३८ क्विन्टल सुन तस्करीमा एकै समूह


काठमाडौँ- चूडामणि उप्रेती गोरेको समूहले जुलाई ०१५ अर्थात् ०७२ को असाररसाउनयता खेप–खेप गरेर ३७ लाख ९९ हजार ५६५ ग्राम अर्थात् तीन हजार ७९९ किलो सुन तस्करी गरेको छानबिन समितिको ठहर

१७,०१,८०,७१,४३० रुपैयाँ बिगो

गोरेको नेतृत्वमा सुन तस्करीमा संलग्न सात प्रहरी अधिकारी सहित ६३ जनाविरुद्ध मुद्दा, करिब तीन वर्षसम्म उनीहरूले तस्करी गरेको सम्पूर्ण सुनको मूल्य १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ बिगो दाबी र सजाय माग खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा ६ जना बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध अदालतमा अभियोग दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरूलाई संगठित अपराधअन्तर्गत सुन चोरी–तस्करी गरेको, मानव अपहरण गरी शरीर बन्धक बनाएको र कर्तव्य ज्यान अपराधमा फरक–फरक मुद्दा दर्ता गराएको हो । गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीको अनुसन्धानका आधारमा जिल्ला प्रहरीले जिल्ला अदालत मोरङमा बुधबार अभियोग दर्ता गराएको हो ।

‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी–पैठारी र चोरी–निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको अपराध गरेको आरोपमा पक्राउ परेका २९ जनासहित जम्मा ६३ जनाविरुद्ध प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गराएकोे मोरङ अदालतका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

मुद्दा चलाइएका फरार अभियुक्तमा मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीदेखि नेपाल प्रहरीका एसएसपी श्याम खत्रीसम्म छन् ।

पत्रकारमाथि एसपी लोहनीको लात्ती

अदालतमा मुद्दा दर्ता गराएर फर्काउँदै गर्दा अभियुक्त एसपी दिवेश लोहनीले फोटो खिचिरहेका पत्रकारमाथि आक्रमण गरेका छन् । पत्रकारलाई अपशब्द बोल्दै अगाडि बढेका उनले लात्ती प्रहार गरेका हुन् ।

इमेज च्यानल र अनलाइनखबर डट कमका संवाददाता ध्रुव भट्टराईलाई लात्ती हानेका हुन् । अर्का पत्रकार सुमन सुस्केरालाई मुक्का हान्ने प्रयास गरेका थिए । ब्लास्ट दैनिकका अनिल श्रेष्ठलाई अपशब्द बोलेर दुर्व्यवहार गरेका थिए । न्यायालयभित्रै भएको अभद्र व्यवहारको पत्रकार संगठनहरूले भत्र्सना गरेका छन् ।

यसरी भेटिएको थियो सनमको शव

१८ फागुनमा जंगलमा करेन्ट लगाएर हत्या गरिएका उर्लाबारी–७ का युवा सनम शाक्यको शव १९ फागुनमा विराटनगर महानगर–३ स्थित ज्योतिमार्गमा जिपभित्र प्रहरीले बरामद गरेपछि घटनाको अनुसन्धान सुरु भएको थियो ।

सुरुमा महानगरीय अपराध महाशाखाको अप्रेसन टोलीले तस्कर समूहले लहानतिर भरिया सनम शाक्यको हत्या गरेर फरार भएको प्रचारबाजी गराए पनि पछि उक्त हत्या मोरङ उर्लाबारी–१ स्थित कान्छीचोकको जंगलमा गायब सुन खोज्नका लागि यातना दिने क्रममा भएको खुलेको थियो ।

त्यसछि घटनलाई संगठित र रहस्य मानेर गृह मन्त्रालयले सहसचिव ईश्वर पौडेलको नेतृत्वमा विशेष छानबिन समिति बनाएर अनुसन्धान थालेको थियो ।

अनुसन्धान बलियो छ : समिति

फरक–फरक आरोपमा अभियोगपत्र तयार गरिएको भए पनि सबैमा प्रमाण पुगेकाले मुद्दा बलियो भएको संयुक्त अनुसन्धान समितिको दाबी छ । आरोपी सबैले प्रमाणसहित अभियोग स्वीकार गरिसकेकाले अनुसन्धान बलियो भएको समितिका सदस्य जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बताए ।

अनुसन्धान अपूरै

गायब साढे ३३ किलो सुन र त्यसका मुख्य मालिक मानिएका चूडामणि उप्रेती गोरेबारे कुनै पत्तो नलागेकाले अनुसन्धान अपूरै रहेको कानुन व्यवासयीहरूले बताएका छन् । प्रहरीले धेरै बेकसुर व्यक्तिलाई शंकाकै भरमा पक्राउ गरेर संगठित अपराधमा अभियोग लगाई फसाउन खोजेको हुन सक्ने आशंका पनि कानुन व्यवसायीले गरे ।

के हो संगठित अपराध ?

संगठित अपराध निवारण ऐन, २०७० अनुसार कसैले पनि जानेर, नजानेर वा समूहसँग मिलेर संगठित अपराध गर्ने–गराउने, समूहमा लाग्ने, सहयोग गर्ने, निर्देशन दिने गरे संगठित अपराध गरेको ठहरिने छ । गम्भीर अपराध भन्नाले तीन वर्षभन्दा बढी सजाय हुने अपराधलाई मानिएको छ ।

भ्रष्टाचार, अवैध ओसारपसार, सम्पत्ति शुद्धीकरण वा आतंककारी क्रियाकलाप र अवैध वित्तीय कारोबार संगठित अपराधमा पर्छन् । अपराध लुकाउन सहयोग गर्ने तथा संलग्नलाई भगाउन सहयोग गर्ने र लाभ लिने काम पनि संगठित अपराध नै मानिन्छ ।

संगठित अपराधमा संलग्नलाई कर्तव्य ज्यानबाहेक अन्य अपराधसँगै थप ५० प्रतिशत सजाय हुनेछ । संगठित अपराध ठहर भए ३ देखि ७ वर्षसम्म जेल तथा बिगोअनुसारको जरिवाना र पीडितलाई क्षतिपूर्ति भराउनेसहितको सजाय हुन सक्छ । संगठित अपराधमा संलग्नहरूको सम्पूर्ण सम्पत्ति रोक्का गर्ने र सम्पत्ति शुद्धीकरण आयोगमा मुद्दा चलाउनेसमेत अधिकार सुरक्षित छ ।

एयरलाइन्सका १३ कर्मचारीलाई संगठित अपराध तथा सुन तस्करी अभियोग

एयरलाइसन्का कर्मचारीहरू बालकृष्ण श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, लालबहादुर मगर, पुण्यप्रसाद लामा, कपिलराम गिरी, गोपालकुमार श्रेष्ठ, कपिलराम पुरी, हेमन्त गौतम, पुण्यप्रसाद लामा, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारू, राजन थापा, राप्रपाका नेता भुुजुङ गुरुङसहित सुन कारोबारी राजेशमान शाक्य, महावीर गोल्यान र अर्का एकजनलाई पनि संगठित अपराध तथा सुन तस्करी आरोपको अभियोगपत्र तयार गरिएको छ ।

अभियोगपत्र दर्ता गरिएका आरोपी

मोरङ उर्लाबारी–७ का ३७ वर्षीय गोरे भन्ने चूडामणि उप्रेती, काभ्रेपलाञ्चोक मण्डन–देउपुर–१२ बस्ने २९ वर्षीय टेकराज मल्ल ठकुरी, उर्लाबारी–४ बस्ने ३६ वर्षीय मोहन काफ्ले, हेटौँडा उपमहानगर–१६ बस्ने २७ वर्षीय सुरेन्द्र गौतम, झापा गौरादह–८ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारी, मेची नपा–४ बस्ने २९ वर्षीय रुस्तम भन्ने मोहम्मद उस्ताम मियाँ, सोलु दूधकुण्ड–८ बस्ने ३० वर्षीय टुकबहादुर मगर रहेको छ ।

त्यस्तै मेची नपा–१३ का ३१ वर्षीय लाक्पा शेर्पा, मोरङ उर्लाबारी नपा–२ बस्ने माधव भन्ने मदनप्रसाद घिमिरे, सिरहा धनगढीमाई नपा–१२ का रोहित आचार्य, मोरङ उर्लाबारी–७ का ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की, उर्लाबारी नपा–४ का भबिन राई भनिने भबिन तामाङ, भारत बिहार राज्यको मोतिहारी स्थायी घर भई हाल काठमाडौं मनपा–७ गौरीघाटमा रहेको श्री ब्रदर्स मोटर ग्यारेजमा काम गर्ने राजनकुमार, सुनसरी धरान उपमनपा–२ बस्ने ३० वर्षीय कृष्ण बस्नेत, काठमाडौं मनपा १६ का ६४ वर्षीय भुजुङ गुरुङरहेका छन् ।

यसै गरी सुनसरी धरान उपमनपा–३ घर भई हाल काठमाडौं मनपा–२९ अनामनगर बस्ने एमके मामा भनिने मोहनकुमार अग्रवाल, धरान नपा–२ बस्ने राहुल भन्ने सुनीलकुमार अग्रवाल, झापा सताक्षी नपा–६ घर भई हाल काठमाडौं चन्द्रागिरि नपा–४ बस्ने कालु, काले, किसन भन्ने ४५ वर्षीय कृष्णगोपाल अग्रवाल, काठमाडौं मनपा–३२ का ४९ वर्षीय आरके भन्ने राजेन्द्र शाक्य, उर्लाबारी–७ घर भई काठमाडौं मनपा–७ गौरीघाट बस्ने ३३ वर्षीय रमेश उप्रेती, भारत पश्चिम बंगाल सिलिगुडी घर भई हाल काठमाडौं धुम्बराही प्रेस्टिज अपार्टमेन्टमा बस्ने ६२ वर्षीय चाचाजी भन्ने महावीरप्रसाद अग्रवाल, काठमाडौं–९ एयरपोर्ट्स्थित बाजेको सेकुवा कर्नरका सञ्चालक चेतन भन्ने चेतनाथ भण्डारी रहेका छन् ।

काठमाडौं–३१ बानेश्वर बस्ने न्युरोडस्थित भैरवलक्ष्मी गोल्ड सिल्भर मार्टका सञ्चालक ४३ वर्षीय प्रमोदकुमार श्रेष्ठ, सुनसरी इटहरी–६ बस्ने ३२ वर्षीय बेनु श्रेष्ठ, काभ्रेपलाञ्चोक बेथानचोक–४ बस्ने हरिशरण खड्का, झापाको झपा–७ घर भई काठमाडौं–९ बस्ने प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल, सिन्धुपाल्चोक तोगर्चे–७ घर भई हाल काठमाडौं–६ बौद्ध आरुबारी बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर मगर, काठमाडौं–८ का ५९ वर्षीय वीरेन्द्रमान श्रेष्ठ रहेका छन् ।

ललितपुर–१४ बस्ने सम्बिरबहादुर तोलाङे, काठमाडौं–९ बस्ने ४५ वर्षीय बालकृष्ण श्रेष्ठ, भक्तपुर सूर्य्विनायक–९ खत्रीगाउँ बस्ने ५१ वर्षीय दोराम खत्री, काठमाडौं–९ बस्ने ५१ वर्षीय कपीराज पुरी, काठमाडौं–८ बस्ने ५८ वर्षीय गोपालकुमार श्रेष्ठ, ललितपुर कन्योसोम–३ बस्ने ३० वर्षीय तक्ले भनिने पुण्यप्रसाद तामाङ, काठमाडौं चन्द्रागिरि–१३ बस्ने ४२ वर्षीय हेमन्त गौतम, काठमाडौं–१८ बस्ने ५५ वर्षीय राजु महर्जन, बाग्लुङ काठेखोला–७ बस्ने कमल कार्की, काठमाडौं–१६ खरिबोट बस्ने मणिराज चौलागाईं रहेका छन् ।

सिन्धुपाल्चोक जलजलेका शिवकुमार गुभाजू, धरान–१ घर भई काठमाडौं–३१ शान्तिनगर बस्ने वैभवलक्ष्मी सिल्भर गोल्ड प्यालेसका सञ्चालक ५० वर्षीय सुनील श्रेष्ठ, भोजपुर दिङ्ला घर भई हाल काठमाडौं बागेश्वरी मनहरा–३ बस्ने आरबी भन्ने रक्षा भण्डारी, मोरङ सुनवर्षी–६ बस्ने ३८ वर्षीय अर्जुनप्रसाद खरेल, पर्वत पैँयु–७ बस्ने ४१ वर्षीय रोशन भन्ने गुप्तलाल भुसाल, काभ्रे नेपालथोक–४ कार्की गाउँ बस्ने ४० वर्षीय रामहरि कार्की, भक्तपुर मध्यपुर ठिमी–१६ लोकन्थली बस्ने ५४ वर्षीय एसएसपी श्यामबहादुर खत्री रहेका छन् ।

काठमाडौं–३२ कोटेश्वर बस्ने ४६ वर्षीय डिएसपी सञ्जयबहादुर राउत, काठमाडौं टोखा–६ बस्ने ५० वर्षीय एसपी विकासराज खनाल, चितवन भरतपुरका ३६ वर्षीय प्रहरी हवल्दार अम्बरबहादुर थापामगर, गोरखा–१४ बस्ने ३७ वर्षीय विष्णुबहादुर खड्का, काठमाडौं–३ बाँसबारी बस्ने ५४ वर्षीय पूर्व्डिआइजी गोविन्दबहादुर निरौला, बर्दिया घर भई काठमाडौं–१८ बस्ने ३५ वर्षीय तुलाराम थारू, काठमाडौं–१३ ताहाचल बस्ने ४२ वर्षीय अमरमान डंगोल, मोरङ सुन्दरहरैचा–२ बस्ने २७ वर्षीय ओमप्रकाश नेवार, मोरङ कानेपोखरी–४ बस्ने माधव आचार्य, मोरङ उर्लाबारी–७ घर भई काठमाडौं–७ गौरीघाट बस्ने नर्वदा खरेल निरु, धनकुटा–४ घर भई काठमाडौं न्युरोडमा लक्ष्मी गोल्ड सिल्भर प्यालेस सञ्चालिका ४४ वर्षीया गीता श्रेष्ठ, कास्की पोखरा–लेखनाथ–२१ बस्ने प्रयास पराजुली, सिन्धुपाल्चोक बलेफी–५ बस्ने सञ्जय र समीर अधिकारी रहेका छन् । ।

सात अनुत्तरित प्रश्न

१. गोरेलाई बाहिरबाट सहयोग गर्ने प्रहरी समातिए । उनीहरूमाथि मुद्दा लाग्यो । तर, साढे ३३ किलो सुन ल्याउन दिने विमानस्थलकै सुरक्षाकर्मीमाथि अनुसन्धान भएन ।

२. विमानस्थलमा प्रहरी मात्र होइन, भन्सार, अध्यागमन, गुप्तचरजस्ता सुरक्षा संयन्त्र हुन्छन् । ती संयन्त्रमाथि छानबिन भएन । जबकि, यसअघि सिआइबीका तत्कालीन प्रमुख नवराज सिलवालको नेतृत्वले ३३ किलो सुन बरामद गर्दा प्रहरीका एसएसपी श्याम खत्री मात्र होइन, भन्सार अधिकृत श्रीनारायण यादव, एक्सरे मेसिन टेक्निसियन राज ढकाल, रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठ र गंगा भुर्तेल पक्राउ परेका थिए ।

३. साढे ३३ किलो सुन तस्करीका मुख्य योजनाकार चूडामणि उप्रेती गोरे २० पुस ०७३ मा बरामद भएको ३३ किलो सुन तस्करीका पनि फरार अभियुक्त हुन् । तर, अध्यागमनको रिपोर्टअनुसार त्यसपछि पनि गोरे विमानस्थलबाटै पटक–पटक विदेश आवतजावत गरेको देखिन्छ । फरार अभियुक्त विमानस्थलबाट आवतजावत गर्दा अध्यागमन र गुप्तचरले के हेरे ? यो विषयमा छानबिन छैन ।

४. एयरलाइन्सका कर्मचारी पनि तस्करीमा संलग्न हुने गरेका घटना यसअघि पनि आएका छन् । तर, यसपालि पनि तल्लो तहका कर्मचारी मात्र कारबाहीको दायरामा आए । माथिल्लो तहमाथि छानबिन भएको छैन ।

५. विमानस्थल सुरक्षाका लागि नेपाल प्रहरीको तर्फबाट डिआइजीको कमान्डमा ३ सय ७ प्रहरी कर्मचारी खटिन्छन् । विमानस्थलको प्रत्येक स्थान र जहाजसम्मै पुग्ने अनुमति उनीहरूलाई हुन्छ । कर्मचारी हिँड्ने मार्गमा सिसिक्यामेरा हुन्छ । कर्मचारी आउने बाटोबाट सुन बाहिर ल्याइएको हो भने सामान बोकेर आइरहेका कर्मचारी वा प्रहरीलाई सिसिक्यामेरा मोनिटर गर्ने प्रहरीले किन देखेनन् ? यस विषयमा पनि छानबिन भएको छैन ।

६. सुन बाहिर ल्याउने काम थाई एयरवेजका कर्मचारी सानु बनले गरेको भनिएको छ । केही दिनपछि उनी विमानस्थलभित्रै दगुर्दै गएर इन्धन ट्यांकरमा ठोक्किएको भिडियो सिसिक्यामेराले खिचेको छ । तर, त्यस्तो अस्वाभाविक मृत्यु वा आत्महत्याबारे तत्कालै किन छानबिन भएन ? यस विषयमा पनि कसैलाई कारबाही भएको छैन ।

७. २९ जना पक्राउ पर्दा र ६३ जनाविरुद्ध मुद्दा लाग्दा पनि मुख्य योजनाकार गोरेको अत्तोपत्तो छैन । अझ यति धेरै चर्चा भएको साढे ३३ किलो सुन कहाँ छ ? छानबिन समितिलाई थाहा छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement