आगलागीमा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

आगलागीमा श्रीमतीको मृत्यु, श्रीमान् घाइते


काठमाण्डु- काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा रहेको श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी हुँदा अन्य दुई घरसमेत जल्नुका साथै एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार शुक्रबार राति उद्योगमा विद्युत् सर्ट भई आगलागी हुँदा सोही उद्योगका कामदार काठमाडौंको शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारेकी ७० वर्षीया वृद्धा टीकादेवी दङ्गालको जलेर मृत्यु भएको हो ।

आगलागीमा घाइते भएका उनका श्रीमान् तोयानाथ दङ्गालको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

उद्योगबाट सुरु भएको आगोबाट नजिकका कृष्ण विकको कच्ची घर तथा धु्रवबहादुर विकको जस्तापाताको टहरोसमेत जलेका छन् । उक्त आगलागी पाँचवटा दमकलको सहायताबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले बताए ।

आगलागीबाट उद्योगको ८० लाख, अन्य दुई घरको १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कनबाट देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पताल लगिएको छ ।