काठमाण्डु – लघुकथाकार शोभा अधिकारीको नवीनतम् लघुकथाकृति ‘आमाको आँखा’ शनिबार काठमाण्डुस्थित पद्मकन्या क्याम्पसमा आयोजित विशेष समारोहबिच लोकार्पण गरिएको छ ।
कार्यक्रममा बोल्दै लेखिका अधिकारीले साहित्यलाई ‘दिव्य बगैंचा’को संज्ञा दिँदै साहित्यभित्र जति गहिरिए पनि त्यति नै आनन्द, सुगन्ध र जीवन बाँच्नुको अर्थ फेला पर्ने बताइन् । उनले साहित्य समाजको दर्पण तथा मानवीय संवेदनाको प्रतिबिम्ब भएको उल्लेख गरिन् ।
अधिकारीले आफ्ना सपना, कल्पना, भोगाइ र समाजमा देखिएका अन्याय–अत्याचारले आफूलाई निरन्तर लेख्न प्रेरित गरेको बताइन् । ‘हरेक बिहानीले मलाई उठ् शोभा, लेख भनेर घच्घच्याइरहन्थ्यो । देखेका कुरा, भोगेका कुरा, सपनाहरू र अन्यायलाई शब्दमा उतार भन्ने प्रेरणाबाटै ‘आमाको आँखा’ जन्मिएको हो,’ उनले भनिन् ।
आजको व्यस्त समयलाई मध्यनजर गर्दै छोटो तर प्रभावशाली विधाका रूपमा लघुकथा रोजेर कृति तयार पारेको पनि उनले स्पष्ट पारिन् । समारोहमा नाट्यकार अशेष मल्लले हरेक मानिस आफैंमा कथाकार भएको उल्लेख गर्दै कथा भन्ने कला भाव अभिव्यक्तिको माध्यम भएको बताए ।
‘हामी सबैसँग कथा छ, त्यसलाई कसरी भन्ने भन्ने मात्र फरक हो । कला भनेको हाम्रो भावको प्रकट हो, अरु केही होइन,’ उनले भने ।
संगीतकारको भाव संगीत बन्ने, चित्रकारको भाव रंगमार्फत क्यानभासमा उतारिने र साहित्यकारको भाव कविता वा कथाका रूपमा प्रकट हुने भन्दै सबै सिर्जनाको मूल स्रोत ‘भाव’ नै भएको उनले धारणा राखे ।
‘हामी सबैसँग भाव छ, त्यो भावको न रूप छ, न रङ्ग छ, न भाषा छ । सङ्गीतकारको भाव बाहिर आएपछि सङ्गीत लय हुन्छ । चित्रकारको भावले रङ्गहरू भेटेपछि क्यानभ्यासमा चित्र बनाइदिन्छ । साहित्यकारको भाव बाहिर आएपछि कविता, कथा बनी आउँछ । स्रोत भनेको त्यही भाव हो,’ उनले भने ।




प्रतिक्रिया