सदस्य सचिवको विषयमा तीन संघले शान्तिपूर्ण आन्दोलन गर्ने


काठमाण्डु- नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइइपीए), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले सदस्य सचिवको विषयमा सर्वोच्च अदालतको ध्यानाकर्षण गराउन शान्तिपूर्ण आन्दोलन गर्ने भएका छन् ।

सदस्य सचिवको विचाराधिन मुद्दामा छिटो भन्दा छिटो सुनुवाई गर्न दबाब बढाउन भन्दै बिहीबार संयुक्तरूपमा शान्तिपूर्ण आन्दोलन गर्ने विज्ञप्तीमार्फत जनाएका छन् ।

विज्ञप्तीमा एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यष दिपक विष्ट र राखेप कर्मचारी संघबाट रंजन थापाले हस्ताक्षर गरेका छन् । सरकारले तत्कालिन सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्दै टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । सिलवालले आफ्नो बर्खास्ती रोक्न र घिसिङको  नियुक्ती खारेजीको माग गर्दैै दायर गरेको मुद्दामा सर्वोेच्चले अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

२८ माघमा सर्वोच्चले यस विषयमा सुनुवाईको पेशी तोकेको छ । राखेपमा सदस्य सचिव नहुँदा यसै वर्ष चीनमा हुने एसियन खेलकुुद, नवौं राष्ट्रिय खेलकुद, १४औं दक्षिण एसियाली खेलकुद (साग) का साथै अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी प्रभावित भएको विज्ञप्तिमा बताइएको छ ।

यस विषयमा छिटो निकास निस्किएमा खेलकुद गतिविधि पुनः चलायमान बनाउन सकिने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको एनएनआइपीए, नेपाल ओलम्पियन संघ र राखेप कर्मचारी संघले संयुक्तरूपमा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement