आरजुलाई पैसा दिएको भन्ने अडियोबारे प्रहरीले भन्याे- अभियुक्त सन्देश शर्माको स्वर हो


काठमाण्डु- नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ ।

भुटानी शरणार्थी बनाएको प्रकरणमा आफ्नो नाम जोडर आएको अडियोको सत्यतथ्य छानबिन गर्न माग गर्दै आरजुले बैशाख २ गते साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। सो प्रकरणमा हाल थुनामा रहेका बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँण र आरजुले पनि रकम लिएको भन्ने अडियो सार्वजनिक भएको थियो।

अडियोको परीक्षण गर्दा त्यसमा सुनिएको स्वर हाल थुनामा रहेका दाङ घर भएका सन्देश शर्माको भएको खुलेको हो । नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेर कडायतले आइतबार विज्ञप्ती जारी गर्दै अडियोमा सुनिएको स्वर सन्देश शर्माको भएको जानकारी दिएका छन् ।

तर, अडियो कहाँ र कसबाट आयो भन्ने जानकारी लिनको लागि टिकटकको सिंगापुर कार्यालय पत्रचार गरे पनि थप विवरण प्राप्त नभएको बताइएको छ। नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौं रकम असुल गरेको अभियोगमा असार १ गते अदालतले हाइप्रोफाइल व्यक्तिसहित १६ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्बनमा परेका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायलाई पुर्पक्षको लागि थुनामा छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement