धनगढी – केही वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि ऋण काढेर छोराछोरीलाई निजी विद्यालयमा पढाउँथे। कमजोर व्यवस्थापन, गुणस्तरीय शिक्षाको अभाव र परीक्षामा खराब नतिजाका कारण अभिभावक र विद्यार्थीको सामुदायिक विद्यालयप्रति आकर्षण कम थियो।
आफैंले पढाउने सामुदायिक विद्यालयले दिने शिक्षाप्रति विश्वास नभएर शिक्षकले पनि निजी विद्यालयमा छोराछोरी पढाउँथे। तर केही वर्षयता सुदूरपश्चिम प्रदेशका केही सामुदायिक विद्यालयले गरेको गुणात्मक सुधारले पुरानो परिदृष्य बदलिएको छ। सामुदायिक विद्यालयले शिक्षामा गरेको सुधारका कारण विद्यार्थी र अभिभावक दुवैको आकर्षण बढेको छ।
अस्थायी राजधानी धनगढीमा रहेको पन्चोदय उच्च माविले चालु शैक्षिक सत्रका लागि निजी विद्यालय छाडेर भर्ना हुन आएका सबै विद्यार्थीलाई भर्ना गर्न सकेन। ‘चालु शैक्षिक वर्षमा कक्षा १ देखि कक्षा ९ सम्म भर्ना हुन यति धेरै विद्यार्थी आए कि हामीले सबलाई स्थान दिन सकेनौं। प्रवेश परीक्षा लिएरमात्र भर्ना गर्नुप¥यो,’ पन्चोदय उच्च माविका प्राचार्य हरिश ओझाले भने।
पन्चोदयमा गत वर्षदेखि नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन गर्न थालिएको छ। विद्यार्थीको भर्ना चाप धेरै भएकाले कक्षा ९ मा नेपालीमा ३ र अंग्रेजीमा ३ गरेर ६ सेक्सन सञ्चालन गरिएको छ भने अन्य कक्षामा पनि अंग्रेजीमा २ र नेपालीमा २ गरेर ४ सेक्सन चलाउनुपरेको उनले बताए।
पन्चोदय उच्च माविमा राम्रो पठनपाठन हुन थालेपछि अभिभावकले निजी विद्यालयवाट छोराछोरी छुटाएर भर्ना गरेका छन। ‘मैले मेरा छोराछोरी दुवैलाई निजी विद्यालयबाट निकालेर पन्चोदयमा भर्ना गरेको छु।’ धनगढी–४ कि साधना सिंहले भनिन्। उनले एलजी एकेडेमीमा पढ्ने छोरी अनिषा र अक्सफोर्ड बोर्डिङमा पढ्ने छोरा अनिशलाई छुटाएर पन्चोदयमा भर्ना गरेको बताइन्। ‘निजी विद्यालयमा भन्दा राम्रो पढाइ हुन्छ भन्ने सुनेर पन्चोदयमा ल्याएर भर्ना गरेकी हुँ’, उनले भनिन्, ‘कम खर्चमा राम्रो पठनपाठन हुने भएकाले हाम्रो टोलका धेरैले यही स्कुलमा भर्ना गरेका छन्।’
निजी स्कुलमा पढिरहेका धनगढी– ४ का शरद चौधरीलाई पनि उनका अभिभावकले पन्चोदयमा भर्ना गर्न खोजेका थिए। तर उनले भर्ना पाउन सकेनन्। ‘पन्चोदयमा भर्ना हुन प्रवेश परीक्षा दिएँ तर नाम निस्केन’, चौधरीले भने।
यसैगरी बझाङको सबैभन्दा पुरानो सरकारी स्कुल सत्यवादी माविले पनि पठनपाठनमा सुधार ल्याएको छ। सो विद्यालयले सामुदायिकले पनि उत्कृष्ट र गुणस्तरीय शिक्षा दिन सक्छन् भन्ने पुष्टि गरेको छ। नेपाली र अंग्रजी दुबै माध्यमबाट सो विद्यालयमा पठनपाठन हुने गरेको छ। विद्यालयमा भर्ना हुने विद्यार्थीको चाप बढेपछि यस वर्ष पनि प्रवेश परीक्षाबाट छनोट गरियो। आवेदन भरेका सबैले भर्ना पाएनन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।




प्रतिक्रिया