छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ९ जनाको मृत्यु


काठमाण्डु – देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

अछामको मेल्लेख गाउँपालिका–७ सुयडीस्थित सडकमा सोडषाबाट साफेतर्फ जाँदै गरेको सुप प्र ०१००२ त ४९७९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करीब २०० मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा ट्रयाक्टरका चालक मेल्लेख गाउँपालिका–१ ऋषिदह बस्ने २१ वर्षीय जनक धामी समेत ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ट्रयाक्टरमा सवार ३ जनाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको छ ।

दाङको घोराही उपमहानगरपालिका–९ दुवीचौरस्थित सडकमा बुकाली डाडाबाट मुकुन्द डाडातर्फ जाँदै गरेको रा८प ३९५३ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार तुलसीपुर उपमहानगरपालिका–६ बस्ने ३१ वर्षीय अर्जुन बस्नेतको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–६ बनकसियास्थित सडकमा बैदौलीबाट कुश्मातर्फ जाँदै गरेको इलेक्ट्रोनिक स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय राजु थारूको सोमबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरको बकैया गाउँपालिका–४ गोठखोलास्थित सडकमा प्रदेश ३–०१–०२४ च १७९६ नम्बरको कारको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने निजल बानियाको छोरा ११ वर्षीय निशान बानियाको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–८ निमचोकमा बर्दिवासबाट हात्तिलेटतर्फ जाँदै गरेको बा७८प ५३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक बर्दिबास नगरपालिका–२ लच्का बस्ने ३५ वर्षीय पूर्णबहादुर मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि बर्दिबासस्थित शुभ–स्वस्तिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि बर्दिबासतर्फ पठाइएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement