काठमाण्डु-दाङको घोराही–लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक घोराहीको नवलपुर बस्ने २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही ४ बस्ने २१ वर्षीय विनोद केसी रहेको इलाका प्रहरी कार्यालय लमहीका इन्सपेक्टर प्रकाश भुसालले जानकारी दिए ।
लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकलमा सवार उनीहरू आज बिहान लमही नगरपालिका–६ बेलदमारमा दुर्घटनामा परेका थिए ।
मुख र टाउकोमा चोट लागेर बोल्न नसक्ने अवस्थामा फेला परेका उनीहरूलाई प्रहरीले लमही अस्पतालमा ल्याएको थियो । चिकित्सकले उनीहरूको मृत्यु भएको पुष्टि गरेका थिए ।
घटनास्थल लमहीबाट करिब ५ किलोमिटर उत्तर–पश्चिममा पर्दछ ।
यता, बाँकेको राप्ती सोनारी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एकजनाको मृत्यु भएको छ ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा मोटरसाईकल दुर्घटना हुँदा बर्दिया घर भई बैजापुरमा बस्दै आएका ३८ वर्षिय अजय चौधरीको आज उपचारको क्रममा मृत्यु भएको हो ।
यसअघि दुर्घटनामा दुर्घटनामा परी भे १२ प ३१९५ नम्बरका चालक राप्ती सोनारी–४ निवासी ३७ वर्षिय रामशरण थारु र भे १२ प ४८२८ का चालक राप्ती सोनारी–३ का १७ वर्षिय बसन्त थारुको हिजो नै मृत्यु भएको थियो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १२ प ३१९५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको भे १२ प ४८२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
तीव्र गतिमा रहेका मोटरसाईकल हिजो बेलुका राप्ती सोनारी–४ स्थित लठ्ठापुरमा ठोक्किएका थिए । दुर्घटनामा परी घाइते भएका संगिन थारु र संजय थारुको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक रामशरण र अजय नेपाल राष्ट्रिय माध्यामिक विद्यालय धामपुर बैजापुरमा कार्यरत शिक्षक रहेको बताइएको छ ।




प्रतिक्रिया