स्कर्पियो दुर्घटनामा ८ यात्रुको मृत्यु

स्कर्पियो दुर्घटनामा ८ यात्रुको मृत्यु


रौतहट- रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा आज बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । बालबालिकासहित ४ जना घाइते छन् ।

चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई रोडबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जानकारी दिएका छन् ।

मृतक मध्ये अधिकांशको सनाखत हुन सकेको छैन । गढीमाई दर्शन गरेर घर फर्कँदै गर्दा स्कर्पियो सडकबाट तल खसेर रुखमा ठोक्किए पछि पल्टिएको डीएसपी राईले बताए ।

प्रहरीका अनुसार सिराहा अर्नमा गाउँपालिका–३ का ६० वर्षीया फुलमन्ति रामको उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै नाम थर वतन नखुलेको अन्दाजी ४५ वर्षीय स्कर्पिओ चालकको पनि उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा दुई बालबालिकासहित घाइतेको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । एक जनालाई थप उपचारको लागि वीरगन्ज रेफर गरिएको छ ।