कलाकार प्रमोद अग्रहरीकाे फिटनेस राज !


काठमाडौं – स्वस्थ्य रहनका लागि हरेक मानिसलाई जीम र व्यायामको आवश्यकता पर्छ । अझ कलाकारहरुका लागि त यसको विशेष महत्व रहेको हुन्छ । उनीहरु आफूलाई स्वस्थ राख्न मात्र होइन, आमदर्शकका अगाडी आकर्षक देखिनका लागि पनि व्यायाममा सचेत देखिन्छन् ।

सँधै जसो व्यस्त रहने कलाकारहरुलाई आफ्नो लागि समय निकाल्न निकै गाह्रो पर्छ । नियमित व्यायामका साथै खानपानमा नियन्त्रणलाई पनि आवश्यक ठान्छन् उनीहरु । जति नै व्यस्त भए पनि आफूलाई फिट राख्न समय निकाल्ने गर्छन् । चलचित्र ‘उमा’बाट आफ्नो फिल्मी यात्रा सुरु गरेका चलचित्र क्षेत्रका अब्बल कलाकार प्रमोद अग्रहरीसँग काठमाडौंपाटीका लागि यशोदा भुजेलले गरेको कुराकानीको सम्पादित अंशः

–फिट रहन के गर्नुहुन्छ ?

फिट रहनका लागि म जति बेला र जस्तो अवस्थामा पनि आफुलाई शान्त राख्ने गर्छु । कुनै पनि चिजलाई आफ्नो मन या आफ्नो शरिरमा हावी हुन दिँदैन । म जस्तो सुकै अफ्ठ्यारो परिस्थितिमा पनि एकदमै पोजेटिभ सोचका साथ बाँच्ने केटा हो ।

–नियमित ब्यायाम गर्नुहुन्छ ?

जीममा गएर दैनिक बिहान ७ देखि १० बजे (३ घण्टासम्म) एक्सरसाइज गर्छु । अनि बेलुका १ घण्टा फुटबल खेल्छु ।

–स्वास्थ्यप्रति कतिको सचेत हुनुहुन्छ ?

हामी सबैलाई थाहा छ ‘हेल्थ इज वेल्थ’ भन्ने कुरा, त्यहि भएर मेरो दिल अनि दिमागमा एउटै कुरा छ म आफुलाई कहिल्यै रोगी हुनु दिँदैन । किनकी मलाई अस्पताल भन्ने शब्द नै सुन्न मन पर्दैन ।

–त्यसो भए तपाई अहिलेसम्म अस्पताल नै जानु भएको छैन ?

लास्ट टाइम जाइरा मुभिको सुटिङको बेला हात फ्याक्चर हुँदा अस्पताल गएको थिए । त्यसपछि गएको छैन ।

–ब्यालेन्स डाइटमा के–के खानुहुन्छ ?

म फुल भेजिटेरियन हुँ । मेरो ब्रेकफास्टमा दिनहुँ मेवा, स्याउ, गाँजर हुन्छ । विश्वभर फैलिएको महामारी (कोभिड–१९) लकडाउनले गर्दा १०ः३० मा ब्रेकफास्ट गर्छु त्यसपछि १२ः३० मा लन्च गर्छु । लन्चमा मेरो थोरै राइस, दुई वटा रोटी, दाल, हरियो सागसब्जी अनि हरियो खुर्सानी हुन्छ । अनि रातमा सुत्नुअघि एक ग्लास दुधमा बेसार राखेर खाने गर्छु ।

–कतिको मोटाउन मन पर्छ ?

मोटाउन मन पर्दैन । फिल्मको लागि ८४ केजी सम्म तौल पुर्याएको छु र ५५ केजीसम्म तौल घटाएको छु ।

–अल्कोहल कतिको पिउनुहुन्छ ?

म अल्कोहल पिउँदिन । किनकी अल्कोहलको बोत्तल देख्नेवित्तिकै म झ्याप हुन्छु (हाँस्दै)

–फ्रेस हुनका लागि के गर्नुहुन्छ ?

म सधै नै फ्रेस नै हुन्छु । अल्छि मान्ने केटा होइन म । थप इनर्जी चाहियो भने एकछिन साथीहरुसँग गफ गर्छु, ‘गौरी मा’सँग कुरा गर्छु ।

–कति घण्टा सुत्नु हुन्छ ?

लगभग ८ देखि ९ घण्टा सुत्ने गर्छु, काठमाडौंमा हुँदा ९ बजेदेखि बिहान ५ बजेसम्म सुत्छु । तर अहिले १० देखि ११ बजेसम्म सुतिसक्छु, अनि बिहान ६ बजे उठ्छु । मेरो हरेक दिनको सुरुवात एक पोजेटिभ इनर्जीको साथ सुरु हुन्छ ।

–आफुलाई फिट राख्नैपर्छ भन्ने प्रेसर कतिको हुन्छ ?

फिट रहनका लागि प्रेसर लिन थाल्यो भने त कहिल्यै फिट हुनु सकिँदैन । त्यसैले म अनावश्यक कुराहरुमा प्रेसर लिने गर्दिन । फिट रहनु नै ह्याप्पी एण्ड हेल्दि लाइफ हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement