एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको एसियाली विकास बैंक (एडिबी)ले नेपालमा आफ्नो सहयोग विस्तार गरिरहेको छ । 

यसै सन्दर्भमा एडिबीले नेपालमा सन् २०२९ सम्म आफ्नो सहयोग २.४ अर्ब अमेरिकी डलर पुग्ने एडिबीका अध्यक्ष मासातो कान्डाले बताएका छन् ।

‘नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा एडिबीले आफ्नो सहयोग विस्तार गरिरहेको छ,’ उनले भने , ‘सन् २०२९ सम्ममा हाम्रो सहयोग २.४ अर्ब अमेरिकी डलर पुग्ने अपेक्षा छ ।’

नेपालका लागि एडिबीको देशीय साझेदारी रणनीति २०२५–२०२९ अन्तर्गत उक्त रकम उपलब्ध गराइनेछ । यस सहयोगले रोजगारी सृजना, निजी क्षेत्र विकास, दिगो पूर्वाधार, सार्वजनिक सेवा प्रवाह, उत्थानशीलता, महिला तथा पछाडि पारिएका र जोखिममा रहेका समूहहरूको सशक्तीकरण तथा डिजिटल रूपान्तरणलाई प्राथमिकता दिनेछ । 

साथै सह–वित्तीय तथा हरित र स्थानीय मुद्रामा जारी गरिने बन्डजस्ता नवीन वित्तीय साधनमार्फत थप स्रोत परिचालन गरिने बताइएको छ ।

नेपाल भ्रमणका क्रममा एडिबीले आफ्नो वार्षिक प्रतिबद्धताको हिस्साका रूपमा कुल १६५ मिलियन अमेरिकी डलरबराबरका दुई ऋण सम्झौतामा हस्ताक्षर गरेको एडिबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसमध्ये ११५ मिलियन अमेरिकी डलरको परियोजनामार्फत् आठ लाख ५० हजारभन्दा बढी नागरिकलाई भरपर्दो तथा सुरक्षित खानेपानी र सरसफाइ सेवा उपलब्ध गराइने छ । 

त्यस्तै, ५० मिलियन अमेरिकी डलरको नीतिगत ऋणमार्फत नेपालको सीमा नाकामार्फत वस्तु आवागमन प्रणालीलाई आधुनिकीकरण गरिनेछ । यसले व्यवसायहरूको लागत घटाउन, कार्यक्षमता बढाउन तथा डिजिटलीकरण र सरलीकृत प्रक्रियामार्फत प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्न सहयोग पुर्याउने बताइएको छ । त्यस्तै यस वर्ष एडिबीको वार्षिक ऋण सहयोग ६६० मिलियन अमेरिकी डलरसम्म पुग्ने अपेक्षा गरिएको छ । 

एडिबी र नेपालबीचको साझेदारीको ६० वर्ष पूरा भएको अवसरमा भएको प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटमा नेपालको आर्थिक रूपान्तरण, रोजगारी सृजना तथा लगानी प्रवर्द्धनका लागि एडिबीको सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

सोही अवसरमा अध्यक्ष कान्डाले एडिबीको सहयोगमा सञ्चालित परियोजनाहरूको स्थलगत अवलोकन गर्दै एडिबीको सहयोगको प्रभाव प्रत्यक्ष रूपमा अवलोकन गरेका थिए । 

उनले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ तथा नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योससँग मिलेर काठमाण्डुमा विद्युत् आपूर्ति सुदृढ गर्न सहयोग गर्ने दुई वटा सबस्टेशनको भर्चुअल उद्घाटन गरेका थिए ।

त्यसपछि शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगै अध्यक्ष कान्डाले सन् २०१५ को भूकम्पपछि पुनर्निर्माण गरिएको विद्यालयको भ्रमण गरेका थिए । यो परियोजना विपद् जोखिम व्यवस्थापन तथा मानव पूँजी विकासमा एडिबीको लगानीको हिस्सा हो ।