अफगानिस्तानका लागि नेपालले पठाएको सामग्री राष्ट्रसंघका प्रतिनिधिलाई हस्तान्तरण


काठमाण्डु – अफगानिस्तानका लागि नेपालले पठाएको सहायता सामग्री संयुक्त राष्ट्रसंघलाई हस्तान्तरण गरिएको छ । परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल नेतृत्वको टोलीले आज बिहान अफगानी जनतालाई आवश्यक औषधी, घरायसी सामग्रीहरू र लत्ता कपडा काबुलस्थित राष्ट्रसंघको मिसनलाई हस्तान्तरण गरेको हो।

हिमालय एयरलाइन्सको जहाजमार्फत् औषधि, लत्ताकपडा र घरायसी सामग्री गरी करिब १४ टन सामग्री अफगानिस्तान पठाइएको थियो। अफगानिस्तानका करिब २ करोड ७० लाख मानिस मानवीय सहयोगको पर्खाइमा छन् । तीमध्ये ३० लाख बालबालिका कुपोषणबाट ग्रस्त रहेको बताइएको छ। तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्थान संकटमा परेको छ ।

तालिबानहरूले सत्ता कब्जा गरे पनि उनीहरूको सरकारलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन। नेपालले पनि तालिबान नेतृत्वको सरकारलाई मान्यता दिएको छैन । परराष्ट्र मन्त्री खड्काले तालिबान सरकारलाई मान्यता नदिइने बताए । सार्क राष्ट्रको हैसियतले नेपालले सहयोग सामाग्री पठाएको जनाइएको छ । चरम आर्थिक संकट र खाद्यान्न अभावबाट गुज्रिरहेको अफगानिस्तानलाई पछिल्लो समय विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाले मानवीय सहायता गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement