अफगानिस्तानको आर्थिक सम्मेलनमा ६० देशका प्रतिनिधि सहभागी


एजेन्सी – अफगानिस्तानमा आयोजना गरिएको आर्थिक सम्मेलनमा ६० देशका प्रतिनिधि सहभागी भएको दाबी गरिएकाे छ । अफगानिस्तानमा सरकार बनाएको तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले सरकारद्वारा आयोजित आर्थिक सम्मेलनमा उनीहरू सहभागी भएको दाबी गरेका हुन् ।

गत बुधबार आयोजना गरिएको सम्मेलनमा देशको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका र बैंकीङ विषयमा छलफल भएको थियो  । सम्मेलनमा तालिबान सरकारले आफ्ना असहमति, असन्तुष्टि, आशङ्का जे छन् ती सबै कुरा राख्न सबैलाई अनुरोध गरेको थियो ।

उनीहरूको आशङ्का र असन्तुष्टिलाई सम्बोधन गर्न आफूहरू तयार रहेको पनि सम्मेलनमा सहभागी तालिबानी नेताहरूले प्रतिबद्धता जनाएका थिए । महत्वपूर्ण परियोजनाहरू अफगानिस्तानमा ल्याउन पनि तालिबानी नेताहरूले सहभागीहरूलाई आह्वान गरेका थिए ।

अफगानिस्तानमा तालिबान विद्रोहीहरूले सरकार बनाएपछि विश्व समुदायबाट हुने सहयोग अधिकांश बन्द भएको छ । त्यसलाई फेरि निरन्तरता दिलाउने अपेक्षासहित सम्मेलनको आयोजना गरिएको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement