सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु, प्रधानमन्त्री अनुपस्थित


काठमाण्डु – सभामुख अग्नी प्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा सर्वदलीय बैठक सुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सभामुख सापकोटाले पूर्वप्रधानमन्त्रीसहितका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् ।

सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेपनि उनी बैठकमा अनुपस्थित भएका छन् । उनले सभामुखले पठाएको पत्र नै गलत भएको भन्दै बैठकमा नजाने बताइसकेका छन् । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीलाई सिंहदरबार वा बालुवाटार पठाउनुपर्ने पत्र पार्टी कार्यालयमा पठाएको भन्दै पत्र पठाउने व्यहोरा नै गलत भएको बताएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेता सहभागी छन् ।

बैठकमा एमाले नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल भर्चुअल माध्यमबाट सहभागी भएका छन् । कोरोना भाइरस संक्रमण भएर निको भएपनि उनी घरमै आराम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement