सभामुखले बोलाएको सर्वदलीय बैठक सकियो


काठमाण्डु – सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सकिएको छ । सभामुख सापकोटाले शुक्रबार दिउँसो २ बजेका लागि बोलाएको बैठक सकिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सभामुख सापकोटाले आगामी रणनीति तय गर्न पूर्वप्रधानमन्त्रीसहितका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले आजको छलफल लोकतन्त्रलाई बचाउने विषयमा केन्द्रीत भएको बताए । त्यस्तै अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले पटकपटक लोकतन्त्र धरापमा पार्ने काम भएको, कोरोनाबाट नागरिकलाई जोगाउन खोप ल्याउनुपर्ने विषय र चुरे विनासका विषयमा छलफल भएको जानकारी दिए ।

डां भट्टराईले प्रधानमन्त्री ओलीले पटक–पटक संसद विघटन गरेर लोकतन्त्र धरापमा पारेको भन्दै १४६ जना सांसद एक जुट भएर जानुपर्ने निष्कर्ष निकालेको बताए । त्यस्तै दलहरुले सभामुखले कानून भएको अधिकार प्रयोग गर्न र त्यसमा आफूहरुको समर्थन रहेको बताएका थिए ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेता सहभागी भएका थिए ।

सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेपनि उनी बैठकमा अनुपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement