एक वर्ष अघिको मन्त्रिपरिषद् निर्णय उल्ट्याउँदै फेरि एआईजीको दरबन्दी थप्ने तयारी


काठमाडौं–मन्त्रिपरिषद्को २७ जेठ २०७५ को निर्णयविपरीत फेरि नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी थप गर्ने तयारी थालिएको छ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सातवटै प्रदेशमा एआईजीको दरबन्दी कायम गर्दै नेपाल प्रहरीमा एआईजीको कुल दरबन्दी प्राविधिकसहित १६ पुर्याएको थियो। देउवा अघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एआइजी दरबन्दी ७ बाट बढाएर ११ पुर्याएका थिए ।

तर, ओली नेतृत्वको सरकारले प्रदेशको एआईजी दरबन्दी कटौती गरेर डिआइजीमा झारेको थियो, भने प्राविधिकसहित एआईजीको कुल दरबन्दी ४ कायम गरेको थियो।

सोही अनुसार नेपाल प्रहरीमा दरबन्दी कायम छ। तर, फेरि एआईजीको दरबन्दी बढाउने प्रस्ताव गृहमन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा लगिएको छ।

सुत्रहरुका अनुसार ५ असोजमा भएकोमा एआईजी बढुवामा छुटेका डिआईजी मनोज नेउपाने र डिआइजी सुरेशविक्रम शाहका निम्ति भएपनि नयाँ दरबन्दी सृजना गरिन लागिएको हो।

अहिले एआइजीहरु पुष्कर कार्की  कार्य एवं अपराध अनुसन्धान विभाग, ठूले राई मानवस्रोत एवं प्रशासन विभाग र धीरु बस्न्यात प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन्। एआइजी डा. दुर्गा थापा नेपाल प्रहरी अस्पतालको प्रमुखको रुपमा कार्यरत छिन्।

यद्यपि गृहमन्त्रालयले २५ जेठ २०७५ मा एआईजीको दरबन्दी कटौटी गरेर पाँचमा कायम गर्न सिफारिस गरेको थियो। मन्त्रिपरिषद्ले भने तीनवटामा झारिदिएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement