एयर एसियाको बदमासीःसेवा शुल्क बक्यौता तिर्न आनाकानी


काठमाडौं – मलेसियाको निजी हवाई सेवा प्रदायक एयर एसियाले विमानस्थल सेवा शुल्कबापतको बक्यौता रकम तिर्न फेरि आनकानी गरेको छ। मार्चको पहिलो साता त्रिभुवन विमानस्थल कार्यालय र एयर एसियाका प्रतिनिधिबीच बक्यौता तिर्ने विषयमा सम्झौता भएको थियो।

एयर एसियाले सम्झौता उलंघन गर्दै रकम तिर्न आनकानी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए। सहमतिमा २५ करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्दै अप्रिलमा कुल बक्यौताको ४० प्रतिशत रकम तिर्ने सहमति भएको थियो।

बाँकी २७ करोड बक्यौतामा अन्य रकम भने मे, जुन र जुलाईभित्र चुक्ता गरिसक्ने सहमति भएको थियो। तर, एयर एसियाले अहिलेसम्म बैंक ग्यारेन्टी नराखेको गौतम बताउँछन्। ‘एयर एसियाले बारम्बार झुक्काउने काम गरिरहेको छ’, गौतमले भने, ‘रकम असुलीका लागि त्रिभुवन विमानस्थल कार्यायलाई प्राधिकरणका तर्फबाट पनि बाँकी बक्यौत रकम असुलीमा सहयोग हुन्छ।’

एयर एसियालाई विमानस्थल कार्यालयले पहिलोपटक मंसिर मसान्तसम्ममा बाँकी रहेको सबै बक्यौता चुक्ता गर्न पत्र काटेको थियो। तर, विमानस्थल कार्यालय तोकेको समयमा रकम दाखिला नगरे पनि फेरि कार्यालयले २४ दिनको समय थप गरेको थियो।

दोस्रो पटक थपिएको समयको अन्तिम दिन पुस २४ गते फेरि एयर एसिया नेपाल प्रतिनिधिले २८ फेब्रुअरीभित्र सबै बक्यौता चुक्ता गर्ने भन्दै लिखित प्रतिबद्धता गरेको थियो। तर, २८ फेब्रुअरीका एयर एसिया नेपाल प्रतिनिधिले बाँकी बक्यौता चुक्ता नगरेपछि विमानस्थल कार्यालयले एयर एसियाको प्रमुख कार्यालयमा पत्रचार गरेको थियो।

पत्र पाए लगतै एयर एसियाले कुनै बक्यौता बाँकी नरहेको दाबीसहित विमानस्थल कार्यालयलाई सूचना गरेको थियो। तर, नेपाल नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयले साँवा र ब्याजसहति २७ करोड बक्यौत बाँकी रहेको हिसाब विवरण एयर एसियाको मलेसिया अफिसलाई जानकारी गराएको थियो। मलेसिया अफिसले ठूलो रकममा बक्यौता रहेको जानकारी पाएलगतै आफ्ना दुई प्रतिनिधि नेपाल पठाएको थियो। नेपाल आएका दुई प्रतिनिधिले २५ करोड रुपैयाँ बैंक ग्यारेन्टी दाखिल गर्दै मार्च महिनामा हिसाब रुजु गर्ने र अप्रिलदेखि रकम तिर्न सुरु गर्ने लिखित प्रतिबद्धता गरेका थिए। तर, मार्च सकिनै लाग्दा पनि एयर एसियाले सहमतिअनुसार काम नगरेको गौतम बताउँछन्।

उडान तालिका स्वीकृति रोकियो

विमानस्थल सेवा शुल्क बक्यौता चुक्ता नगरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थले एयर एसियाको समर स्टल (उडान तालिका) पनि स्वीकृति गरेको छैन। एयर एसियाबाहेक अन्य एयर लाइन्सको भने समर स्लट स्वीकृति भइसकेको विमानस्थल कार्यालयले जनाएको छ। एयर एसियालाई फेरी बाँकी बक्यौता चुक्ता गरी स्मर स्टल स्वीकृतिका लागि पत्रचार गर्ने तयारी भएको गौतमले बताए। विमानस्थल कार्यालयलाई एयर एसियाको उडान बन्द गर्दै रकम असुली गर्ने अधिकार भए पनि अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा नकारात्मक सन्देश जाने भन्दै सहमतिका काम गर्न खोजिएको गौतम बताएका छन्। तर, एयर एसियाले अहिलेसम्म गरेको लिखित प्रतिबद्धता उलंघन गर्दा समस्या सिर्जना भएको छ। फेरि उडान बन्द गरेको अवस्थामा रकम नै डुब्ने खतरा समेत भएको उनको भनाइ छ। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement