अखिल क्रान्तिकारीको मतगणनामा विवाद

अखिल क्रान्तिकारीको मतगणनामा विवाद


काठमाण्डु- अखिल क्रान्तिकारीको मतगणनामा विवादमा उत्पन्न भएको छ । विवाद पछि अहिले मतगणना रोकिएको छ । शनिबार सम्पन्न निर्वाचनमा कालो मसीले मतदान भएको भन्दै उम्मेदवारका प्रतिनिधिहरूले विरोध गरेका हुन् ।

विश्वविद्यालय र विशेष प्रदेशको मतगणना सुरु गर्नुअघि निर्वाचन समितिले कालो मसीले मतदान भएको जानकारी गराएपछि उम्मेदवारका प्रतिनिधिहरुले विरोध जनाएका थिए ।

निर्वाचनका लागि रातो साइनपेन राखिएको थियो । तर कालोले पनि मतदान गरेको पाइएपछि विवाद भएको हो । अध्यक्षका उम्मेदवार विजय सापकोटा पक्षले कालो मसीलाई मान्यता दिनुपर्ने भने पनि उपदेश यादव पक्ष असहमत देखिएको छ ।

विवादपछि हेमन्त पक्षका प्रतिनिधि लोकेन्द्र ऐरी मतगणना स्थलबाटै बाहिरिएका थिए ।

उपदेश यादव पक्षकाले विशेष प्रदेश, विश्वविद्यालय प्रदेश र मधेशलाई आफ्नो आधार क्षेत्र ठान्ने गर्दछन् । त्यसैले रातो–कालो मसीको विवादमा उपदेश यादव पक्षले बढी विरोध जनाएको देखिन्छ ।

अहिलेसम्मको समग्र मतपरिणाम हेर्दा विजय र हेमन्तबीच प्रतिस्पर्धा भइरहेको छ । उपदेश तेस्रो र सुदिन पौडेल चौथो स्थानमा छन् । उनीहरुले अघोषित रुपमा प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए । मतगणना बालमिकी विद्यापीठ प्रदर्शनीमार्गमा भइरहेको छ ।