कुनै पनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि हट्दिनँ, इतिहासमै उत्कृष्ट काम गर्नेछु: प्रमुख आयुक्त राई


काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कुनै पनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार घट्टेकुलो समाजले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले तथ्य र प्रमाणको आधारमा कुनै पनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘मेरो कार्यकालमा भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हटने छैन । तर निर्दोष व्यक्तिलाई भ्रष्टाचारको दायराभित्र ल्याउनेलाई पनि बचाउने क्रियाकलाप रहनेछैन,’ उनले भने । उनले आयोगको इतिहासमै आफु भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास गर्ने बताए ।

प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा बढी प्रभावकारी बनाउने ढंगले काम गर्ने बताए ।
‘नागरिक समाज र जनताको अपेक्षा नै भ्रष्टाचार न्यूनीकरण हुनुपर्नेमा छ,’ उनले भने, ‘त्यो आवाजलाई मेरो कार्यकालमा मेले विगतको भन्दा प्रभावकारी ढंगले यसलाई लैजाने मेरो प्रण रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

कार्यक्रममा उनले बिनापूर्वाग्रह कानून, विधि र प्रक्रियामा रहेर कुनै पनि भ्रष्टाचार नियन्त्रणको काम कारबाही अगाडि बढाउने पनि प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement