गृहजिल्ला सर्लाहीमै सांसद अमरेश सिंहलाई कालो झण्डा, पुत्ला पनि जलाइयो

गृहजिल्ला सर्लाहीमै सांसद अमरेश सिंहलाई कालो झण्डा, पुत्ला पनि जलाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहलाई शनिबार साँझ उनकै गृहजिल्ला सर्लाहीको मलंगवामा कालो झण्डा देखाइएको छ।

हिन्दु सम्राट सेनाका कार्यकर्ताहरूले सिंहको पुत्लासमेत दहन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले चारजना युवाहरूलाई पक्राउ गरेको छ। विरोधका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हिन्दु सम्राट सेनाका नेता कृष्णा यादवले जानकारी दिए।

पूर्व-पश्चिम हुलाकी राजमार्ग पदयात्राका क्रममा झापाबाट सर्लाही पुगेका सिंहलाई मलंगवा पुगेका युवाहरू विरोधमा उत्रिएका हुन्। हिन्दु सम्राट सेनाका कार्यकर्ताहरूले सिंहका विगतका अभिव्यक्ति हिन्दु धर्मविरोधी रहेको जनाउँदै प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले मलंगवास्थित जिल्ला विकास चोकको बाबा स्वामी मठनजिक पुत्ला जलाए। कालो झण्डा देखाउने क्रममा प्रहरीले आफ्ना चारजना कार्यकर्तालाई पक्राउ गरेको यादवले बताए। पक्राउ परेकाहरूलाई रिहा गर्न माग गर्दै सेनाका कार्यकर्ता विरोधमा उत्रिएका छन्।

पदयात्राका क्रममा गृहजिल्ला सर्लाही पुगेका सिंह शनिबार राति सदरमुकाम मलंगवामै बसेका छन्। रास्वपा सर्लाहीका जिल्ला सभापति सरोज बानियाँले सिंहको पदयात्रा आइतबार बिहान साढे ७ बजेपछि अघि बढ्ने बताए।