‘एमाले र मसालसँग सहकार्य अघि बढिसक्यो, अरू कम्युनिस्टलाई पनि एकतामा ल्याउँछौँ’

‘एमाले र मसालसँग सहकार्य अघि बढिसक्यो, अरू कम्युनिस्टलाई पनि एकतामा ल्याउँछौँ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिस्ट शक्तिलाई एकतामा ल्याउने प्रयास जारी रहेको बताएका छन्।

शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले साना-ठूला सबै कम्युनिस्ट समूहलाई एकतामा ल्याउने अभियानलाई तीव्र बनाउने बताए।

विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यले एकता प्रयास गरिए पनि निरन्तरता दिन नसकिएको उनले स्वीकारे ।

‘एकपटक असफल हुँदैमा एकताको प्रयास छाड्नु हुँदैन,’ उनले भने, ‘कम्युनिस्ट एकताको झण्डालाई अझ माथि उठाउने लक्ष्यका साथ हामी अघि बढिरहेका छौँ।’

नेकपा एमालेसँग तीनबुँदे र नेकपा मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारिएको दाहालले बताए। अन्य कम्युनिस्ट समूहसँग पनि छलफल भइरहेको उनले जानकारी दिएका छन्।

विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गर्दै सहकार्य र कार्यगत एकता विस्तार गर्न सके मात्रै देशका समस्या समाधान गर्न सकिने उनले बताए । केन्द्रदेखि स्थानीय तहसम्म सामूहिक प्रयास गर्न र विभिन्न कम्युनिस्ट शक्तिबीचको सहकार्यलाई निरन्तरता दिन उनले आग्रह गरे।

राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिसँग संयुक्त मोर्चा बनाउनेबारे पनि छलफल भइरहेको प्रचण्डले बताए। शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिसँग सकारात्मक तथा रचनात्मक संवाद अघि बढाइएको उनले उल्लेख गरेका छन्।