जर्मनीका राजदूत स्याफर र मुख्यमन्त्री पोखरेलबची शिष्टाचार भेटवार्ता


बुटवल – प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग जर्मनीका राजदूत रोल्याण्ड स्याफरसहितको एक टोलीले आइतबार मुख्यमन्त्री कार्यालयमा शिष्टचार भेटवार्ता गरेका छन् । भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ ।

भेटमा मुख्यमन्त्री पोखरेलले सङ्घीयता कार्यान्वयनको पहिलो वर्षमा रहेको प्रदेश सरकारले अहिले कानून निर्माण र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको तथा सङ्घीय संरचनाअनुसार साङ्गठनिक संरचना तयार भएको जानकारी दिए । उनले सङ्घीयता कार्यान्वयनका लागि विश्वका अनुभव अध्ययन गर्ने क्रममा जर्मनीको अनुभव पनि अध्ययन गरेको र नेपालको सङ्घीयता मौलिक चरित्रको भएको बताए ।

उनले प्रदेशको समृद्धिबाट मुलुकको विकासलाई अघि बढाउन खोजेको तथा नेपालको विकास प्रयासमा यो प्रदेशलाई नमूना बनाउन खोजेको जानकारी दिए । मुख्यमन्त्री पोखरेलले नेपालको विकास प्रयासमा जर्मनीको निरन्तर सहयोग रहेकोप्रति प्रशंसा गर्दै प्रदेशको विकास प्रयासमा जर्मनीको सहयोगको अपेक्षा गरेको बताए ।

भेटमा राजदूत स्याफरले जर्मनीको सहयोग र लगानी प्रदेशको प्राथमिकताका आधारमा गर्न चाहेको बताए । उनले लगानीका लागि प्राथमिकताका क्षेत्र, अनुकूल कानूनी वातावरण, तालीमप्राप्त जनशक्ति लगायतका विषयमा जिज्ञासा राखेका थिए । भेटमा उनले गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनमा जर्मनीको इच्छा रहेको जानकारी दिए । भेटमा जर्मन संसद्का सदस्य टोविया पिफुगर, बेटिना स्टर्क, गबिइले कट्मार्क, संसद्का प्रमुख मोनिका हेइनलगायत सहभागी रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीले जानकारी दिए ।

भेटमा टोलीले केही दिनअघि हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएकामा स्तब्ध भएको भन्दै सहानुभूति व्यक्त गरेको छ । यस्तै उक्त प्रतिनिधिमण्डलले आजै प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीसँग भेट गरेको छ । प्रतिनिधिमण्डलबीच प्रदेशसभा सचिवालय बुटवलमा भेट भएको सभामुखका प्रेस सल्लाहाकार गणेश वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement