६ देशमा राजदूत रिक्त,पांच देशमा खाली हुंदै, नियुक्तीको लागी छैन कुनै सुरसार


काठमाण्डु– विभिन्न देशमा राजदूत रिक्त भएको महिनौ पुग्दा पनि सरकारले राजदूत नियुक्ती प्रक्रियामा चांसो नदिएको पाइएको छ । हाल रुस,अष्ट्रिया,इजिप्ट,साउथ कोरिया र श्रीलंकामा नेपाली राजदूत रिक्त भएको लामो समय भइसकेको छ । बाज्रिलमा पनि राजदूत तारा पोखरेलको समयाअवधी सकिएपनि अर्को नियुक्ती नहुंदासम्म उनको समयाअवधी थप गरेर राखिएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले यसअघि पटक–पटक राजदूतहरु रिक्त नराख्ने सार्वजनिक रुपमा बताएपनि व्यवहारमा भने त्यो लागु हुन सकेको छैन । ज्ञवालीले राजदूत नियुक्तीको लागी कोशिस गरेपनि पछिल्लो राजनीतिक अवस्थाले गर्दा नियुक्ती रोकिएको बतान्छ । लामो समय राजदूतको पद रिक्त भएपनि परराष्ट्र सचिव भरत पौडेलको समेत सक्रियता देखिएको छैन ।

यसअघि यसअघि श्रीलंका(रमेशचन्द्र पौडेल) ,साउथ अफ्रिका (कृष्णचन्द्र शर्मा) र इजिप्ट(निर्मल काफ्ले)मा राजदूत नियुक्तीको लागी प्रस्ताव गरिएको समाचार प्रकाशित भएको थियो । तर, नेकपाभित्रको विवादले उक्त निर्णय अहिले अलपत्र परेको स्रोतको दावी छ । परराष्ट्रमन्त्रालयकी प्रवक्ता सेवा लम्साललाई राजदूत नियुक्तीको बारेमा जिज्ञासा राख्दा उनले आफु व्यस्त भएको भन्दै फोन राखिन् ।

यसअघि नेकपाभित्र राजदूत नियुक्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसंग सल्लाह नगरेको र आफु निकटकालाई मात्र अवसर दिइएको भन्दै उनको आलोचना भएको थियो । तर, प्रधानमन्त्री ओलीले भने नियुक्तीको बारेमा सल्लाह सबैसंग गर्ने निर्णय भने आफुले नै गर्ने अडान राख्दै आएका थिए ।

उनले राजदूत नियुक्ती गर्दा तत्कालिन नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको कोटाबाट भने अष्ट्रेलियाको राजदूतमा महेश दाहाललाई पठाएका थिए ।

तर, पछिल्लो समय आधा दर्जन मुलुकहरुमा राजदूत रिक्त भएपनि यो विषय सरकारको प्राथमिकतामा नपरेको भन्दै आलोचना भइरहेको छ । परराष्ट्रमन्त्रालयका सहसचिवहरु नै केही अवकासमा जान लागेकोले पनि नियुक्ती प्रक्रिया अघि बढाउनुपर्ने बाध्यता सरकारको छ । अमेरिकामा डिसिएम भएर नेपाल फर्केका सहसचिव जिवन श्रेष्ठ दुई महिनापछी अवकास हुने लाईनमा छन् । उनले अहिलेसम्म राजदूत बन्ने अवसर पाएका छैनन् । त्यसैगरी सिनियर भएर पनि राजदूतको जिम्मा नपाउनेमा सहसचिव निर्मल काफ्ले समेत हुन । न्युयोर्क र बेइजिंगमा नियोगको उपप्रमुख रहेका काफ्लेभन्दा जुनियरहरु राजदूत भएर गएपनि उनको भने अहिलेसम्म कुनै टुंगो लागेको छैन ।

एक महिनापछी अवकास हुन लागेका सहसचिव यज्ञ हमाल पनि राजदूत बन्ने दौडमा छन् । उनि कुवेतको राजदुत यसअघि नै भइसकेका हुन । तर, जांदा जांदै राजदूत बन्ने दौडमा हमाल भएपनि भर्खर अवकास पाएका कालि पोखरेलजस्तै उनको हकमा पनि मापदण्ड बन्ने सक्ने सम्भावना रहेको स्रोतको दावी छ । पोखरेल पनि क्यानडाको राजदूत बनेर फर्केका थिए । पछि उनले राजदूतको लागी प्रयास गरेपनि सफल भने भएनन् ।

यता दुई महिनापछि पांच वटा मुलुकहरुको राजदुत पद खाली हुंदैछ । डेनमार्क,जापान,ओमान,बहराईन र साउदी अरेबियामा पनि राजदूत खाली हुने दिन नजिक हुंदा समेत सरकारले भने अहिलेसम्म कुनै पनि प्रक्रिया अघि बढाएको छैन । कुटनितिमा लामो समय राजदूत रिक्त हुनुलाई त्यति राम्रो मानिदैन । तर, सरकारले समयमै राजदूत नियुक्तिको प्रक्रिया अघि नबढाउंदा विभिन्न देशमा लामो समयदेखी राजदूत भने रिक्त भइरहेको छ ।

 ।

प्रतिक्रिया दिनुहोस
Advertisement