अम्बे स्टील्स्लाई एक महिनाभित्र ३५ मेगावाट विद्युत दिँदै प्राधिकरण


काठमाण्डु- नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टील्स् उद्योगलाई एक महिनाभित्रमा करिब ३५ मेगावाट विद्युत दिने भएको छ ।

प्राधिकरणले उद्योगसम्म विद्युत पुर्याउनका लागि आवश्यक सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गरी एक महिना भित्रमा थप २७ मेगावाटसहित अम्बे स्टील्सलाई ३५ मेगावाट विद्युत दिन लागेको हो । प्राधिकरणले अहिले स्टील्स् उद्योगलाई करिब आठ मेगावाट विद्युत आपूर्ति दिइरहेको छ । उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत माग गरेको छ ।

उद्योगसम्म विद्युत पुर्याउनका लागि कोहलपुर सबस्टेसनबाट ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । उद्योगले पनि थप विद्युत आपूर्ति लिनका लागि आफ्नो परिसरमा सबस्टेसन निर्माण र कारखानाको क्षमता विस्तारलाई काम अन्तिम चरणमा पुर्याएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले शनिबार स्थलगत अवलोकन भ्रमण गरी नेपालगञ्ज तथा कोललपुर औद्योगिक क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्न सक्ने उद्योगहरुलाई विद्युत आपूर्ति दिन निर्माण गर्नु पर्ने विद्युतीय पूर्वाधारका विषयमा छलफल गरेको छ ।

टोलीले नेपालगञ्ज क्षेत्रमा सबैभन्दा बढी विद्युत खपत गर्ने अम्बे स्टील्स्को भ्रमण गरी एक महिनाभित्र विद्युत आफूर्ति लिने गरी आफूले गर्नु पर्ने सम्पूर्ण पूर्वतयारीका काम सक्न उद्योग व्यवस्थापनलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement