चितवन – नवीकरण हुन नसक्दा देशभरका २ हजार एम्बुलेन्स थन्किएका छन् ।
स्वास्थ्य ऐन २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन् ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन संघ) अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्था बाहेकले सञ्चालन गरेका एम्बुलेन्स नविकरण भएका छैनन् । यो संख्या अरु थप १ हजार ५०० रहेको उनले जानकारी दिए ।
देशभरमा ६ हजार हाराहारी एम्बुलेन्स रहेको तथ्यांक छ । तीमध्ये स्वास्थ्य संघसंस्थाले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छन् भने गैरसरकारी संस्था र निजी क्षेत्रले सञ्चालन गरेका एम्बुलेन्स सञ्चालन हुन नसकेका हुन् ।
ऐन आएदेखि नै निरन्तर रूपमा संशोधनका लागि सरकारी तवरमा पहल गर्ने काम भइरहेको अध्यक्ष लामिछानेले जानकारी दिए । पूर्व स्वास्थ्य मन्त्री डा. सुधा शर्मालाई समेत समस्याबारे अवगत गराएको अध्यक्ष लामिछाने बताउँछन् । नयाँ सरकार गठन भएपछि स्वास्थ्य मन्त्रीसमक्ष आफ्ना समस्या राख्ने तयारीमा आफूहरू रहेको उनको भनाइ छ ।
ऐन संशोधन नभएमा धेरै एम्बुलेन्स थन्किने र आमनागरिकले सहज रूपमा सेवा पाउन कठिन हुने उनले बताए । अध्यक्ष लामिछानेले भने, ‘मानवतासँग प्रत्यक्ष जोडिएकाले यस विषयलाई नयाँ सरकारले गम्भीरताका साथ हेर्नुपर्छ ।’ यसबाट चालकको रोजगारी समेत गुमेको उनले बताए ।




प्रतिक्रिया