लोकतन्त्रबारे सम्मेलन गर्दै अमेरिका, ११० देशलाई बोलाउँदा चीन र रसियालाई छैन निम्तो


एजेन्सी – अमेरिकाले आगामी महिना लोकतन्त्रबारे सम्मेलन गर्ने भएको छ । अमेरिकाले यही डिसेम्बर ९ र १० गते गर्न लागेको भर्चुअल सम्मेलनमा चीन र रसियालाई भने निम्तो दिएको छैन् । भारत, पाकिस्तान र इराकसहित अमेरिकाका गठबन्धन देशहरुलाई भने बोलाइएको छ । चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला राष्ट्रपति जोन वाइडेन प्रशासनले आयोजना गर्न लागेको सम्मेलनलाई विश्व समुदायले चासोपूर्वक हेरिरहको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार सम्मेलनमा ११० देशलाई निम्ता दिइएको छ । सम्मेलनमा चीनले आफ्नो अभिन्न राज्य मान्दै आएको ताइवानलाई समेत बोलाइएको छ । तर, अफगानिस्तान, बंगलादेश, श्रीलंका र टर्कीलाई बोलाइएको छैन् । ताइवानसँगको कूटनीतिक सम्बन्ध तोड्न चीनले अन्य देशहरुलाई दबाब दिइरहेका बेला सम्मेलन आयोजना हुँदैछ ।

आफ्नो स्वतन्त्रताका बारेमा चीनलाई बोल्ने अधिकार नभएको ताइवानले बताउँदै आएको छ । ताइवान मामिलामा चीनले आक्रमण गरे आफूले हेरेर नबस्ने अमेरिकाले बताउँदै आएको छ । एक साताअघि चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भएको भर्चुअल संवादमा राष्ट्रपति सीले अमेरिकालाई आगोसँग निहुँ नखोज्न चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement