अमेरिकाले एस्ट्राजेनेकाको ६ करोड डोज खोप अरु देशलाई बाँड्ने


एजेन्सी – अमेरिकाले एस्ट्राजेनेका कोरोनाभाइरस खोप अरू देशलाई बाँड्ने भएकाे छ । अमेरिकाले करिब ६ करोड मात्राको खोप केही महिनाभित्र बाँड्ने जनाएकाे हाे।

विश्वभरि एस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भएतापनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले सो खोपलाई अझै स्वीकृति दिएको छैन। अमेरिकाले खोप थुपारेको आलोचनाका माझ सो निर्णय भएको छ। राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकारले अमेरिकाले एस्ट्राजेनेका खोप प्रयोग गर्ने निश्चित् नभएको बताएका थिए।

छिमेकी क्यानडा र मेक्सिको तथा अन्य दर्जनौँ देशहरूले अमेरिकी आपूर्तिमा पहुँचको अनुरोध गरिरहेका छन्।गत महिना राष्ट्रपति जो बाइडनले मेक्सिको तथा क्यानडालाई ४० लाख मात्रा एस्ट्राजेनेका खोप दिने वाचा गरेका थिए।

सोमवार ह्वाइट हाउसले आगामी साताहरूमा एफडिएले सो खोपलाई अनुमति दिनासाथ करिब १ करोड मात्रा उसले बाँड्न सक्ने बताएको छ।

साथै थप ५ करोड मात्राको खोप उत्पादनका विभिन्न चरणमा रहेको बताइएको छ। पत्रकार सम्मेलनमा बोल्दै ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले एफडिएका अधिकारीहरूले ती खोपको गुणस्तर परीक्षण गरेर मात्र निकासी गरिने बताइन्। “हाम्रो टोलीले हाम्रा योजना तथा कसले खोप पाउनेछन् भन्नेबारे थप विवरण पछि बताउनेछ। अहिले हामी योजनाकै चरणमा छौँ,” उनले भनिन्।

यसबीच अमेरिकाले भारतीय खोप निर्माताहरूलाई तत्काल कच्चा पदार्थ उपलब्ध गराउने निर्णय पनि गरेको छ। सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको फोन कुराकानीमा राष्ट्रपति बाइडनले थप आपत्कालीन सहयोगको वाचा गरेको ह्वाइट हाउसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement