अमेरिका र भारतप्रति नेकपा नरम

अमेरिका र भारतप्रति नेकपा नरम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ नेकपा अमेरिका र भारतप्रति नरम देखिएको छ । पार्टी एकताका क्रममा निर्वाचन आयोगमा दर्ता गरेको दस्ताबेज १४ महिनापछि संशोधन गर्दै नेकपाले अमेरिका र भारतप्रति नरम नीति लिएको हो ।

राजनीतिक दस्ताबेजको दुई ठाउँबाट अमेरिकी शब्द झिकेर अमेरिकालाई हेर्ने दृष्टिकोण नरम बनाइएको छ । दस्ताबेजमा अमेरिकी नीतिका कारण व्यापार युद्ध हुन सक्ने सम्भावना औंल्याएको थियो ।

अमेरिकाले अन्य मुलुकबाट आयातित वस्तुमाथि कडा भन्सार नीति लागू गर्दै आफ्नो एकाधिकार पुँजीलाई संरक्षण गर्न चालेको कदमले मतभेद चुलिँदै गएर व्यापार युद्ध हुन सक्ने आशंकासमेत गर्न थालिएको दस्ताबेजमा उल्लेख थियो । तर अहिले छापिँदै गरेको दस्ताबेजमा अमेरिकी शब्द झिकेर पश्चिमा शक्ति राष्ट्रहरू भन्ने शब्द राखिएको छ ।

त्यस्तै अर्को ठाउँमा अमेरिकी शब्द झिकेर वाक्यलाई अमूर्त बनाइएको छ । २० हजार प्रति छाप्ने योजनाअनुसार नेकपाको प्रतिवेदन प्रेसमा छ । भारतको सवालमा पनि नेकपाले अहिले अमूर्त विश्लेषण गरेको छ । दस्ताबेजको पृष्ठ १७ मा छिमेकी शासकहरू भनेर प्रस्ट संकेत गरेको भारतीय व्यवहार झिकेर वैदेशिक प्रतिक्रियावादी शक्ति राखिएको छ ।

संविधान संशोधनको विषयलाई नेकपाको दस्ताबेजले पहिले स्वीकार गरे पनि अहिले मौन छ । ‘नेपाली पुँजीवादी जनवादी क्रान्तिका केही कार्यक्रम बाँकी रहेकाले त्यसलाई पूरा गर्न संविधान संशोधन एवं परिमार्जन गर्दै जानुपर्ने आवश्यकता पर्न सक्ने’ नेकपाको दस्ताबेजमा पहिले उल्लेख थियो । तर अहिले त्यो वाक्य झिकेर संविधान संशोधनका विषयमा केही उल्लेख छैन । यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।