अमेरिकाले विश्वका लागि ५० करोड फाइजर खोपको मात्रा वितरण गर्ने


एजेन्सी- अमेरिकाले विश्वका करिब ९२ वटा देशलाई कोरोना भाइरसविरुद्धको ५० करोड फाइजर खोपको मात्रा आफै किनेर वितरण गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले दुई वर्षको अवधिमा ५० करोड फाइजर खोपको मात्रा करिब ९२ वटा देशलाई उपलब्ध गराउने तयारी गरेको हो ।

त्यसमध्ये यो वर्ष झण्डै २० करोड मात्रा उपलब्ध गराइने छ । बाँकी मात्रा सन् २०२२ मा वितरणको तयारी अमेरिकाले गरेको हो । विश्वका गरिब देशहरुलाई प्रदान गर्ने खोपको मात्रा बढाउन अमेरिकामाथि दबाब पर्दै आएको छ ।

अमेरिकी राष्ट्रपतिका रूपमा पहिलो विदेश भ्रमणको सुरुवात गर्दै बाइडन यूकेमा ओर्लिएपछि पछिल्ला खबरहरू सार्वजनिक भएका हुन्।ह्वाइट हाउसले ५० करोड खोपको वितरणबारे आधिकारिक तवरले केही बताएको छैन। तर विश्वका लागि अमेरिकाको खोप रणनीतिबारे सोधिएको प्रश्नमा बाइडनले भने, “मसँग एउटा छ र म त्यो घोषणा गर्नेछु।”

बुधवार साँझ सफोकस्थित आरएएफ मिलडनहल हवाई अखडामा अमेरिकी एअर फोर्स वान विमान अवतरण गरेको हेर्न एउटा ठुलो भीड उपस्थित थियो।

रोयटर्स समाचार संस्थाका अनुसार अमेरिकी सरकारले ९२ वटा कम आय भएका देश र अफ्रिकी सङ्घलाई उक्त खोप सहयोग गर्ने जनाएको छ। कोभ्याक्स कार्यक्रममार्फत सो खोप वितरण गरिने भनिएको छ। अघिल्लो वर्ष स्थापित कोभ्याक्सले धनी र गरिब देशहरूबीच खोपको पहुँचमा विभेद नहोस् भन्ने आवाज उठाउँदै आएको छ। अमेरिकाले यसअघि कोभ्याक्समार्फत ६ करोड खोपको मात्रा उपलब्ध गराउने घोषणा गरेको थियो।

अमेरिकी राष्ट्रपति र ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटेनको दक्षिण पश्चिम कुनामा जी सेभेनको शिखर बैठक अघि बिहीबार पहिलो पटक भेटवार्ता गर्दैछन्। आठ दिने भ्रमणमा राष्ट्रपति बाइडनले महारानीसँग विन्डजर क्यासलमा भेट्नेछन् र राष्ट्रपतिको रूपमा पहिलो नेटो शिखर बैठकमा पनि भाग लिनेछन्।

प्रतिक्रिया दिनुहोस
Advertisement