अमेरिका-इरानको आक्रमण रोकिएपछि कच्चा तेलको मूल्य ह्वात्तै घट्यो

अमेरिका-इरानको आक्रमण रोकिएपछि कच्चा तेलको मूल्य ह्वात्तै घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको द्वन्द्व समाधानका लागि सकारात्मक र मैत्रीपूर्ण वार्ता भइरहेको बताएका छन् । लगातार तेस्रो दिन पनि दुवै पक्षबाट आक्रमण नभएको अवस्थामा उनले युद्ध अन्त्य हुने सम्भावनाप्रति आशावादी रहेको बताएका हुन्।

सोमबार एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘केही सकारात्मक हुन सक्ने राम्रो सम्भावना देखिएको छ।’ तर, वार्ता असफल भए अमेरिकाले पहिले गरिरहेको सैन्य अभियान पुनः सुरु गर्ने चेतावनी पनि उनले दिए।

यद्यपि, तेहरानले भने अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता भइरहेको दाबीलाई अस्वीकार गरेको बीबीसीले जनाएको छ।

ट्रम्पका अनुसार, वार्तामा मध्यस्थता गरिरहेका देशहरूले थप एक मौका दिन आग्रह गरेपछि उनले शुक्रबार इरानमाथिको अमेरिकी आक्रमण स्थगित गर्ने निर्णय गरेका थिए।

इरानले पनि आफ्ना आक्रमणहरू रोकिएको जनाएको छ।

यो युद्धविराम करिब दुई सातासम्म दैनिक अमेरिकी हवाई आक्रमण र त्यसको प्रत्युत्तरमा इरानले गरेको आक्रमणपछि आएको हो। यसअघि जुन महिनामा भएको युद्धविराम क्रमशः कमजोर बन्दै गएको थियो।

अमेरिकी सेनाले त्यसबेला आफ्नो आक्रमणको उद्देश्य हर्मुज जलडमरूमध्यबाट हुने अन्तर्राष्ट्रिय व्यापारिक जलमार्गमा इरानले पुर्‍याउन सक्ने खतरा कम गर्नु रहेको जनाएको थियो।

युद्ध तनाव कम हुने अपेक्षासँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ९ प्रतिशतभन्दा बढीले घटेर एक समय प्रति ब्यारेल ८७.५९ अमेरिकी डलर पुगेको थियो।

यसैबीच, ट्रम्पले पाँच महिनादेखिको युद्धका कारण अमेरिकी हतियार तथा गोला–बारुदको भण्डार घटेको भन्ने सञ्चारमाध्यमका समाचारलाई पनि अस्वीकार गरेका छन्।

उनले भने, ‘हामीसँग प्रशस्त गोला–बारुद छ। मध्यम स्तरका हतियार पनि आवश्यकताभन्दा धेरै छन्। तर, म अझ धेरै उत्पादन भएको हेर्न चाहन्छु।’

उनले विशेषगरी अमेरिकी प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणालीको उत्पादन तीव्र गतिमा भइरहेको उल्लेख गर्दै अमेरिकासँग पर्याप्त मात्रामा यस्ता प्रणाली रहेको बताए।