काठमाण्डु– अमेरिकी सेनाले इरानका विभिन्न सैन्य लक्ष्यमा ‘भारी’ हवाई आक्रमण गरेको जनाइएको छ। बुधबार इरानले अमेरिकी फौजमाथि ब्यालिस्टिक मिसाइल प्रहार गर्ने प्रयास गरेको भन्दै त्यसको प्रतिशोधस्वरूप हवाई आक्रमण गरेको हो ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार मंगलबार जोर्डनस्थित अमेरिकी सैन्य अड्डा तथा होर्मुज जलडमरूमध्यमा रहेका अमेरिकी जहाजहरूलाई लक्षित गरी इरानले गरेको आक्रमण प्रयासको जवाफस्वरूप इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका दर्जनौँ लक्ष्यमा आक्रमण गरिएको हो।
यो घटनाले द्वन्द्वलाई थप तीव्र बनाएको छ। एक दिनअघि मात्रै अमेरिका र साउदी अरेबियाले संयुक्त रूपमा इरान समर्थित इराकस्थित समूहहरूलाई लक्षित गरी पहिलो पटक सार्वजनिक रूपमा हवाई आक्रमण गरेका थिए।
फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही सुरु गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले युद्ध केही सातामै सकिने बताएका थिए। तर ५ महिना बितिसक्दा पनि द्वन्द्व अन्त्य हुने कुनै संकेत देखिएको छैन।
केही दिनको तुलनात्मक शान्तिपछि फेरि द्वन्द्व चर्किएको हो।
केही दिनसम्म दुवै पक्षले आक्रमण रोकेर कूटनीतिक समाधानको प्रयासस्वरूप वार्ता पुनः सुरु भएको संकेत देखिएको थियो। ट्रम्पले ती वार्तालाई धेरै मैत्रीपूर्ण भनेका थिए, तर तेहरानले कुनै वार्ता नभएको दाबी गरेको थियो।
सेन्टकमका अनुसार बुधबार राति अमेरिकी पूर्वी समयअनुसार ८ बजेसुरु भएको आक्रमण करिब एक घण्टा चलेको थियो। सेन्टकमले यसलाई मध्यपूर्वमा तैनाथ अमेरिकी फौजमाथि इरानले गरेको आक्रमण प्रयासको शक्तिशाली जवाफ भनेको छ। सेन्टकमका अनुसार इरानले प्रहार गरेका सबै मिसाइलहरू अवरोध गरी नष्ट गरिएको थियो।
आक्रमणअघि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै इरानविरुद्ध कडा प्रतिकार गरिने बताएका थिए।




प्रतिक्रिया