परराष्ट्रमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन संवाद, खोप उपलब्ध गराउन आग्रह


काठमाण्डु – नेपालले अमेरिकालाई कोरोना भाइरस संक्रमणविरुद्धको भ्याक्सिन उपलब्ध गराउन आग्रह गरेको छ ।

सोमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी सेर्मनसँगको टेलिफोन सम्वादमा नेपाललाई सहज रुपमा खोप उपलब्ध गराउन आग्रह गरेका हुन् ।

मन्त्री ज्ञवालीको आग्रहमा उपमन्त्री सकारात्मक रहेको मन्त्रालयले जनाएको छ । अमेरिकाले विश्वका विभिन्न मुलुकहरुलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

उनीहरुबीच नेपाल–अमेरिका कोभिड–१९ महामारीको सन्दर्भमा सहकार्य र साझा अन्तर्राष्ट्रिय एजेन्डासम्बन्धी विभिन्न विषयमा वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टेलिफोन वार्तामा दुबै पक्ष आपसी हितमा द्विपक्षीय र बहुपक्षीय सम्बन्धलाई अगाडि बढाउन सहमत भएका छन् ।

उपमन्त्री सेर्मनले नयाँ अमेरिकी प्रशासनले महामारीबिरूद्ध संघर्षलगायत नेपालको सामाजिक आर्थिक क्षेत्रमा सहयोग गर्ने आश्वासन दिएकी थिइन् ।

दशकौंको अवधिमा दुबै मुलुकले प्राप्त गरेको मित्रताको सराहना गर्दै उनले अमेरिकाको सहयोगमा भएका महत्वपूर्ण परियोजनाहरूले नेपालको समृद्धिका थप मार्गहरू खोलिने पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement