एमसीसी विवादित बनेका बेला अमेरिकाले सम्झियो नेपालसँगको ७० वर्ष लामो कूटनीतिक सम्बन्ध


काठमाण्डु – नेपालमा अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) ले चर्चा पाएको छ । एमसीसीलाई लिएर सत्ता गठबन्धनभित्र विवाद चर्किरहेको छ । तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले सन् २०१७ मा एमसीसी परियोजनामा हस्ताक्षर गरेपनि पुनः देउवा सरकारमा आउँदा समेत कार्यान्वयन हुन सकेको छैन् ।

प्रतिनिधिसभामा टेबुल भएको एमसीसी दलहरुबीचको असमझदारीले पास हुन नसेकको हो । विभिन्न राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएको एमसीसी परियोजना कार्यान्वयन नहुँदा अमेरिकासमेत नेपालसँग रुष्ट हुने अवस्था देखिएको छ । केही दिन अगाडि एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपालको चार दिने भ्रमण गरेकी थिइन् ।

उनले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुसँग भेटेर एमसीसी पारित गर्न आग्रह गरेकी थिइन् । दलहरुले पनि सहमतिका साथ अगाडि बढ्ने बचन दिएका थिए । तर, सुमार अमेरिका फिर्ता भइसक्दासमेत सत्ता गठबन्धनका दलहरुबीच समझदारी बन्न सकेको छैन् ।

यसैबीच नेपालस्थित अमेरिकी दूतावासले सुमारको भ्रमण फलदायी भएको भन्दै नेपाल र अमेरिकाबीचको ७० वर्षे लामो मित्रतालाई स्मरण गरेको छ । साेमबार दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालसँग अमेरिकाले सन् १९४७ देखि नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै हालसम्म धेरै आर्थिक सहायता प्रदान गरेको उल्लेख गरेको छ ।

नेपालमा एमसीसी पास नहुने संकेत पाएको अमेरिकाले हालसम्म गरेको सहयोगकोसमेत स्मरण गरेको देखिन्छ । अमेरिकाले १९४७ मा नेपालसँग कूटनीतिक सम्बन्ध स्थापित गरेको थियो र विकासमा सहयोग विस्तार गर्ने देशहरु मध्ये एक भएको स्मरण गरेको छ ।

सन् १९५१ मा संयुक्त राज्य अमेरिका र नेपालले चार वटा द्विपक्षीय सहायता कार्यक्रममा हस्ताक्षर गरेको उल्लेख गर्दै दूतावासले विकासोन्मुख राष्ट्रहरुमा सामाजिक, आर्थिक र राजनैतिक अवस्था सुधार गर्नको लागी डिजाइन गरिएको पहिलो अमेरिकी कार्यक्रम भएको उल्लेख गरेको छ । यी कार्यक्रमहरु सडक र दूरसञ्चारमा केन्द्रित, कृषि सक्षम, र मलेरियाको उन्मूलनमा केन्द्रीत भएका थिए ।

यस्तै १९५२ देखि १९८६ सम्म अमेरिकाले ३६८ मिलियन डलर भन्दा बढी द्विपक्षीय विकास सहायता प्रदान गरेको र त्यसपछि, २०१५ को भूकम्पपछि अमेरिकाले १९० मिलियन डलर भन्दा बढी राहत, पुनःनिर्माण, ३६ विद्यालय र अस्पतालसहित महत्वपूर्ण पूर्वाधारको पुनर्निर्माण, र १६०० भन्दा बढी घरहरुको लागी नेपाललाई सबैभन्दा धेरै आर्थिक सहायता प्रदान गरेको दाबी गरिएको छ ।

दूतावासले ७० बर्ष भन्दा बढी समय देखि अमेरिकाले नेपालको साझा स्वतन्त्रता र सबै राष्ट्रहरुको सार्वभौमसत्ता को सम्मान सहित मित्रता कायम रहेको उल्लेख गरेको छ ।

एमसीसी कम्प्याक्ट अमेरिकाको लामो साझेदारीको एक निरन्तरता भएको दूतावासको भनाई छ । यस परियाेजनाबाट झण्डै २३ लाख नेपालीहरुलाई फाइदा पुग्ने र नेपालीका लागि उच्च गुणस्तरीय रोजगारी सृजना गर्ने दूतावासले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

नेपाल भ्रमण फलदायीः उपाध्यक्ष सुमार

एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपाल भ्रमण फलदायी भएको बताएकी छन् । चार दिने नेपाल भ्रमण पूरा गरी अमेरिका फर्किएकी सुमारले नेपालका राजनीतिक दलहरुसँगको भेटवार्ता फलदायी भएको उल्लेख गरेकी छन् ।

‘अनुमोदन जतिसक्दो चाँडो होस् भन्ने हाम्रो चाहना छ । म निकै आशावादी छु । यहाँका ८ राजनीतिक दलले एमसीसी मनुमोदन गर्ने प्रतिवद्धता जनाउनुभएको छ,’ उनले भनिन् । उपाध्यक्ष सुमारले राजनीतिक दलहरुलाई एमसीसी छिटो भन्दा छिटो अनुमोदन गरेर कार्यानवयनमा लाने मार्ग खोल्न आग्रह समेत गरिन् ।

‘म यहाँ एमसीसी परियोजना कार्यान्वयनका लागि दबाव दिन आएकी होइन्, हामी नेपाल सरकारको इच्छामा मात्र काम गर्छौं । यो दुई देशको सरकारले गरेको सम्झौता हो, त्यसलाई नेपालको संसद्ले अनुमोदन नगर्दासम्म परियोजना कार्यान्वयन गर्न सकिँदैन,’ उनले भनिन् ।

४ दिने नेपाल भ्रमणका क्रममा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मा, उपेन्द्र यादव लगायत उच्च राजनीतिक नेतृत्वसँग एमसीसी परियोजनाका विषयमा छलफल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement