अधिकारविहीन खुला जेलबाट पदमुक्त भएँ, राष्ट्रपतिलाई धन्यवादः अमिक शेरचन


काठमाण्डु – गण्डकी प्रदेशको प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन् ।

सोमबार पदमुक्त भएका शेरचनले मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै अधिकारविहीन खुला जेलबाट पदमुक्त गरेकोमा राष्ट्रपति भण्डारीलाई धन्यवाद दिएका हुन् ।

‘पदमुक्त भएकोमा अत्यन्त खुसी छ । मुरी–मुरी धन्यवाद छ राष्ट्रपति ज्यूलाई,’ उनले भने, ‘अधिकारविहीन खुला जेलबाट पदमुक्त गरिदिनु भएकोमा पुनः धन्यवाद दिन चाहन्छु राष्ट्रपतिज्यूलाई ।’

शेरचनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको प्रस्ताव अस्वीकार गरेको तर, पार्टीको निर्णय मान्न बाध्य भएको बताएका छन् ।

‘पहिला ओली जी र पुनः प्रचण्ड जीमार्फत् ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो यो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भई स्वीकारको पद हो यो’, उनले भने ।

शेरचनले कार्यकालको बीचमा पनि आफूले राजीनामा दिने पटकपटक प्रयास गरे पनि प्रचण्डले रोकेकोले आफू पदमै बसेको बताए । ‘राजीनामा दिन तयार थिएँ, पहिले नै प्रचण्डले रोकेकाले बसे,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement