काठमाण्डु – संवैधानिक इजलासमा एमीकस क्युरीले राय दिने क्रम सुरु भएको छ ।
प्रतिनिधिसभा विघटनवविरुद्ध शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको रिट निवेदनका सुनुवाइका लागि गठित संवैधानिक इजलासले झिकाएको एमीकस क्युरीकी सदस्य उषा मल्ल पाठकले रिट निवेदन खारेज गरेर निर्वाचनमा जानु उत्तम विकल्प रहेको बताएकी छन् ।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री नियुक्त हुन नसकेको अवस्थामा काम चलाउ प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको सिफारिस र राष्ट्रपतिको निर्णय संवैधानिक दायित्व भएकाले संवैधानिक नै रहेको उनको राय थियो । पाठकले एउटै व्यक्तिले निरन्तर प्रधानमन्त्री बन्छु भन्न संविधानले नदिने पनि राय दिएकी छन् ।
संविधानको धारा ७६ (३) बमोजिम संसद्को ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री भएपछि विश्वासको मत लिनुपर्ने र नलिने भए राजीनामा दिनुपर्ने उनको राय थियो । एउटा प्रधानमन्त्री पदमा रहेकै बेलामा अर्को प्रधानमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढ्न नसक्ने उनको भनाइ थियो ।
अर्का एमीकस क्युरी वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले विश्वासको मत प्राप्त गर्न नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६(३)अनुसार पुनः प्रधानमन्त्री नियुक्त गर्नु नै गैरसंवैधानिक भएको दावी गरेका छन् ।
विश्वासको मत गुमाएको प्रधानमन्त्रीको हैसियत के हो भनेर राष्ट्रले थाहा पाउनुपर्ने भन्दै वैद्यले यो विषयमा देशलाई गुमराहमा राखिएको समेत आरोप लगाए । संवैधानिक इजलासमा एमीकस क्युरीले राय दिने क्रम जारी रहेको छ ।




प्रतिक्रिया