अमेरिकासम्मै पुग्यो चीनको कोरोना भाइरस


सियाटल– चीनमा फैलिएको संक्रामक रोग कोरोना भाइरसको संक्रमण अमेरिकासम्मा पनि पुगेको छ । अमेरिकाले सियाटलमा यो सँग सम्बन्धित पहिलो घटना फेला परेको घोषणा गरेको छ ।

यसलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले यो घटनालाई गम्भीर ढंगले लिएर बैठक बोलाएको छ ।

अमेरिकी स्वास्थ्य अधिकारीले मंगलबार चीनमा फैलिएको नयाँ भाइरससँग सम्बन्धित एक घटना देखा परेको बताएका छन् । संघीय एवं राज्य अधिकारीका अनुसार पीडितकोे उमेर ३० देखि ३५ वर्ष बीचको रहेको र उनी वुहानबाट अमेरिका आएका हुन् ।

यद्यपि पीडिन वुहानको सीफूड बजारमा गएका थिएनन् । यो क्षेत्र पछिल्लो समयमा कोरोना भाइरसको केन्द्र बनेको छ । उक्त व्यक्तिलाई सावधानीका रुपमा अस्पतालमा भर्ती गरिएको उनले बताए । यो कोरोना भाइरस चीनको वुहान सहरबाट सुरु भएर अब चीन बाहिर पनि पुग्न थालेको छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अधिकारीले भनेका छन्, ‘नयाँ भाइरससँग जोडिएको घटना देखा परेपछि चीनको वुहानबाट हवाई जहाजबाट अमेरिका जाने यात्रीको स्वास्थ्य जाँच प्रभावकारी ढंगबाट गर्न थालिएको छ ।’

अधिकारीका अनुसार भाइरसबाट पीडित व्यक्तिलाई वासिङटनमा क्षेत्रिय चिकित्सा केन्द्रमा राखिएको छ ।

पीडित वासिङटनको स्नोहोमिस काउन्टीका वासिन्दा हुन् । पीडित १५ जनवरीमा सियाटलमा टेकोमा अन्तर्राष्ट्रिय हवाई अड्डामा ओर्लिएका थिए । यो भन्दा पहिले नयाँ भाइरसको विषयलाई लिएर हवाई अड्डामा कुनै जाँच सुरु गरिएको थिएन । उनलाई १९ जनवरीमा चिकित्सा केन्द्रमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement