काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुन ‘अनन्त’ले वामपन्थी शक्तिहरूबिच सहकार्य र एकताको विकल्प नरहेको बताएका छन् ।
शनिबार मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको ‘नेपालमा वामपन्थी शक्तिहरूबिच सहकार्य र एकता : चुनौती र सम्भावना’ विषयक भर्चुअल बहसका प्रमुख वक्ता पुनले विचार मिल्ने वामपन्थीबिच सहकार्य हुनुपर्ने बताए ।
कम्युनिस्ट आन्दोलन हाल विशिष्ट र रक्षात्मक अवस्थामा रहेको भए पनि यही स्थिति लामो समय नरहने उनले बताए । तत्काल पार्टी एकता सम्भव नभए पनि मुद्दाका आधारमा सहकार्य थाल्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति साझा संघर्ष गर्ने, राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगाडि बढाउने र सामाजिक जनवादका मुद्दाहरूलाई व्यवस्थित रूपमा लैजाने अहिलेको आवश्यकता हो । विचार मिल्नेहरूबिच सहकार्य र एकता जरुरी छ ।’




प्रतिक्रिया