नेपाल मामिला हेर्ने भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी काठमाण्डुमा


काठमाण्डु – भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तव नेपाल आइपुगेका छन् । उनी तीन दिने भ्रमणमा आज नेपाल आइपुगेका हुन् ।

भारतीय विदेश मन्त्रालयमा रहेर नेपाल मामिला हेर्दै आइरहेका श्रीवास्तवले नेपालमा रहंदा विभिन्न कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालय स्रोतले बतायो । साथै उनले नेपाल र भारतबीच हुने परियोजना अनुगमन समितिको बैठकमा पनि भाग लिनेछन ।

नेपाल बसाइका क्रममा उनले अर्थ सचिव मधु मरासिनी, वाणिज्य सचिव दिनेश भट्टराई, कार्यवाहक परराष्ट्र सचिव प्रकाश सुवेदी लगायतलाई भेट्ने कार्यक्रम छ । त्यसैगरि श्रीवास्तवले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग समेत भेटवार्ता गर्ने बुझिएको छ । उनले शीर्ष नेताहरुसँग नेपाल– भारत सम्बन्धको बारेमा छलफल गर्नेछन् ।

न्यूयोर्कमा नेपाली परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको दुई दिनपछि श्रीवास्तव काठमाण्डु उत्रिएका हुन् । दार्चुलाका जयसिंह धामी तुइनबाट महाकालीमा खसेको घटना र नेपाली भूमिमा बीना अनुमति हेलिकोप्टर उडाएको प्रकरणमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको थियाे । तर, उक्त नोटको जवाफ भारतले हालसम्म पनि पठाएको छैन ।

देउवा सत्तामा आएपछि भारतीय सत्तारुढ दल बीजेपीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र बीजेपीका पूर्व महासचिव काठमाण्डु आइपुगेका छन् । देउवा सरकार बनेपछि नेपाल भ्रमणमा आउने अनुराग भारतीय सरकारका उच्च अधिकारी हुन् । उनको यो नेपाल भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement