सशस्त्र प्रहरीका २ महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण

सशस्त्र प्रहरीका २ महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले आईतबार बिहान सशस्त्र प्रहरी बल नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

सहायक हवल्दार अनिता कार्कीले आईतबार १७ मे बिहान १०:२० बजे र सहायक निरीक्षक निम डिक्की शेर्पाले बिहान ११:५५ बजे सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेका हुन् ।

सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला आरोही हुन् । इलाम जिल्लाको सन्दकपुर गाउँपालिका माबुमा जन्मिएकी सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र राष्ट्रिय स्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा जन्मिएकी आरोही अनिता कार्कीले अनुशासन, साहस र उच्च मनोबलको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै सशस्त्र प्रहरी बल नेपालको गौरवलाई अझ उचो बनाएका छन् ।

पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेका आरोहीहरूले मनाङ जिल्लास्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेका छन् ।

आरोही निम डिक्की शेर्पा र आरोही अनिता कार्कीको सगरमाथा आरोहण अभियानमा क्रमश: शेर्पा निमा साङ्गे शेर्पाले र टासी ग्याल्जेन शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए । उनीहरूको सफलताले सशस्त्र प्रहरी बल नेपालभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको जनाइएको छ ।