एपीएफ कमाण्ड तथा स्टाफ कोर्स समापन तथा उद्घाटन

एपीएफ कमाण्ड तथा स्टाफ कोर्स समापन तथा उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आईतबार एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाण्डुमा सञ्चालन भएको नवौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन र दशौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्स उद्घाटन गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित समारोहबीच प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव उपरीक्षक पंकज पौडेललाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्स’, सशस्त्र प्रहरी नायव उपरीक्षक वासुदेव महतलाई ‘बेस्ट रिसर्च अवार्ड’ प्रदान गरे भने विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका प्रोफेसर डा. दुविनन्द ढकालले सशस्त्र प्रहरी निरीक्षक युकेश उप्रेतीलाई ‘बेस्ट एकेडेमीक अवार्ड’ प्रदान गरे ।

महानिरीक्षक अर्यालले कमाण्ड तथा स्टाफ कोर्सले संगठनमा आवद्ध अधिकृतहरूको व्यावसायिक क्षमता, दक्षता अभिवृद्धि हुनुका साथै नविनतम सुरक्षा चुनौतीहरूको सामना गर्न योग्य कमाण्डर निर्माणमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले कोर्स निरन्तर रूपमा सञ्चालन गर्न सहयोग पुर्‍याएकोमा त्रिभुवन विश्वविद्यालय, विभिन्न विषयका विज्ञहरू तथा सम्बन्धित सबैप्रति आभार प्रकट गरे ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका प्रोफेसर डा. दुविनन्द ढकालले सशस्त्र प्रहरी बल नेपाल क्षमता अभिवृद्धि गर्न कोर्स फलदायी रहेको बताउँदै उनले जस्तोसुकै सुरक्षा चुनौतीहरूमा पनि योजना बनाई सहज ढंगले सांगठनिक लक्ष्य प्राप्तिमा परिचालन हुन कमाण्ड स्टाफ कोर्सले मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे ।

६० हप्ता अवधिको नवौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्समा सशस्त्र प्रहरी नायब उपरीक्षक ९ जना, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत १ जना र सशस्त्र प्रहरी निरीक्षक ४ जना गरी १४ जना रहेका थिए भने आईतबारैबाट सञ्चालन भएको दशौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्समा सशस्त्र प्रहरी नायब उपरीक्षक ६ जना, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत १ जना र सशस्त्र प्रहरी निरीक्षक ५ जना गरी १२ जनाको सहभागिता छ ।

समारोहमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायकी पूर्व डिन प्रोफेसर डा. कुशुम शाक्य, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षक, बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृतहरू, त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूको समेत उपस्थिति थियो ।