छाङ्गरुमा सेनाको हेलिकोप्टरमार्फत फौज पठाउने सरकारको तयारी


काठमाडौं- सरकारले कालापानी क्षेत्रमा सशस्त्र प्रहरी खटाउने तयारी गरेको छ । भारतले नेपालको भुमि हुंदै चीनसम्म पुग्ने सड्क निर्माण गरेपछि सरकारले सशस्त्र प्रहरीलाई खटाउने तयारी गरेको हो । सरकारले यसअघि नै उक्त क्षेत्रमा फौंज पठाउने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको थिएन् । सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी प्रविण श्रेष्ठले छाङ्गरुमा हातहतियार र बन्दोबस्तीका सामानसहित सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा फौज पठाउने तयारी भएको बताए ।

धार्चुलामा भारतिय सेनाको दुई वटा रेजिमेण्ट, कालापानीमा आईटीविपीको दुई कम्पनी, एसएसवीको तीन कम्पनी र भारतिय सेनाको दुई कम्पनी तैनाथ छ । तर नेपालतर्फ भने अहिलेसम्म सरकारी उपस्थिती न्युन छ । भारतसंगको सिमा विवाद बढेपछि सरकारले त्यहा सशस्त्रको गुल्म नै स्थापना गर्ने तयारी गरेको स्रोतको दावी छ । दार्चुलाको तिंकरलगायतका क्षेत्रमा चौकी राख्ने र सिमा सुरक्षा प्रभावकारी बनाउने योजनाअनुसार १ सय ६० जनाको गुल्म राख्ने प्रस्ताव अघि बढेको हो ।

‘एउटा विओपी राखेर मात्र पुग्दैन, त्यहा स्रोत साधन र भौतिक पुर्वाधारको उचित व्यवस्था गरेर गुल्म नै राख्नुपर्छ भनेर हामिले सुझाव दिएका छौ । गुल्म राख्दा सिमा सुरक्षा प्रभावकारी पनि हुन्छ ।’ सशस्त्रका एक उच्च अधिकारीले भने ।

सशस्त्र प्रहरी स्रोतले दिएको जानकारीअनुसार हाललाई सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको कमाण्डमा २५ जनाको फौज छाङ्गरुमा पठाउने अन्तिम तयारी भएको छ । त्यसका लागी स्थानियको घर भाडामा लिने समेत तयारी भइसकेको छ ।दार्चुलाको व्यास गाउंपालिकास्थित कालापानी क्षेत्रको सुरक्षार्थ सरकारले सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) राख्ने निर्णय पहिले नै गरेको भएपनि ढिलाई भइरहेको थियो ।

भारतसंग सिमा विवाद भएपछि सरकारले नेपाली सेनाको हेलिकप्टरमार्फत नै सशस्त्रको टोली उक्त क्षेत्रमा पठाउन निर्देशन दिएपछि प्रक्रिया अघि बढेको हो । गृहमन्त्रालयको लिखित निर्देशनपछि सशस्त्रले नेपाली सेनाको हेलिकोप्टरमार्फत  बुधवार छाङ्गरुमा जाने गरी सशस्त्रको फौज तयारी अवस्थामा रराखेको छ ।

त्यसका लागी ५० नम्बर गुल्म दार्चुलाले २५ जनाको फौंजको लागी आवश्यक पर्ने राशन र बन्दोबस्तीको सामान समेत तयार गरिसकेको छ । काठमाडौंबाट सशस्त्रका एआईजी नारायणबावु थापा नै त्यहा पुग्ने तयारी छ । छाङ्गरुमा जाने बाटोको सुविधा नभएको कारण हेलिकोप्टरमार्फत नै हातहतियार, गोलीगठ्ठा र बन्दोबस्तीका सामान र मेडिकल सामाग्री समेत पठाइन लागेको हो ।

छाङ्गरुमा बिओपी राख्ने निर्णय गत मंसिरमै भएको थियो । त्यसका लागी जग्गा खरिद गर्ने काम समेत सम्पन्न भइसकेको छ । यातायात र बाटोको सुविधा नभएको उक्त क्षेत्रमा बिओपी राख्ने तयारी भएपनि सरकारी बेवास्ताका कारण ढिलाई भएको हो ।

भारतले नेपालको भुमि हुंदै चीनसम्म जोड्ने सड्क निर्माण गरेको समाचार संचारमाध्यममा आएसंगै सरकारलाई दबाव बढेको हो । संसदका समितिहरुले समेत सिमाको सुरक्षा तत्काल गर्न सरकारलाई निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement