सशस्त्रको टोली दार्चुलाको छाङरु पुग्यो


काठमाडौं – सशस्त्र प्रहरीको टोली दार्चुलाको छाङरु पुगेको छ । २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीसहितको टोली छाङरु पुगेको हो । दार्चुला सुदरमुकाम खलंगाबाट २ चरणमा गरि टोली व्यास गाउँपालिका–१ छाङरुमा पुगेको हो ।

लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गर्न काठमाडौँबाट आज टोली त्यसतर्फ प्रस्थान गरेको थियो ।

भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि आज नेपाली सेनाको हेलिकोप्टरमा सशस्त्र प्रहरीको टोली पठाइएको हो । बुधबार नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरले टोलीलाई लिएर गएको हो ।

केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो । सीमारक्षाका लागि सरकारले तत्कालै त्यस क्षेत्रमा सशस्त्रको टोली पठाएको हो ।

सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टका अनुसार प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली आज त्यसतर्फ गएको छ । सरकारले गत मङ्सिरमा नै यहाँ बिओपी राख्ने निर्णय गरेको भएपनि अहिलेसम्म स्थापना हुनसकेको थिएन ।

तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो । मङ्सिरमा सरकारले ११४ बिओपी स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement