सशस्त्र प्रहरीका डिआईजी श्रेष्ठको म्याद थपिंदै


काठमाण्डु– सशस्त्र प्रहरीका डिआईजी प्रविण श्रेष्ठको पदावधी थपको लागी प्रक्रिया सुरु भएको छ । हाल सशस्त्रको सुदूरपश्चिम प्रदेशको प्रमुख रहेका श्रेष्ठको चार वर्षे कार्यकाल सकिन लाग्दा एक वर्ष थपको लागी प्रक्रिया सुरु भएको हो । यसअघि डिआईजीहरु खड्क राई र मन्दिप श्रेष्ठको समेत पदावधी एक वर्षका लागी थप गरिएको थियो । उनिहरु दुवै जनाको ५ वर्षे पदावधी आगामी माघमा सकिंदैछ । त्यतिवेलासम्म एआईजी रिक्त नहुने भएपनि उनिहरु दुवै जनाले डिआईजीबाटै अवकास पाउनेछन् ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले श्रेष्ठको पदावधी थपको फाइल गृहमन्त्रालय पठाइसकेका छन् । श्रेष्ठको पदावधी एक वर्ष थप भए उनको सशस्त्र प्रहरी प्रमुख बन्ने बाटो खुल्नेछ ।

हालका सशस्त्र प्रहरी प्रमुख खनाल आगामी चैत्र २८ मा अनिवार्य अवकासमा जांदैछन् । त्यसपछि करिव १ महिनाका लागी हालका एआईजी पुष्पराम केसी सशस्त्र प्रहरी महानिरीक्षक बन्नेछन् । केसीको ठाउंमा वरियतामा त्यतिबेला एक नम्बरमा रहने डिआईजी श्रेष्ठ नै एआईजी बन्ने लगभग निश्चित छ । त्यतिबेला नै सशस्त्रका अर्का एआईजी रामशरण पौडेल पनि अवकासमा जानेछन् ।

तर, हाल डिआईजीमा उनिपछि रहेका राजु अर्याल र नारायणदत्त पौडेलहरु पनि एआइजी बन्ने दौडमा छन् । श्रेष्ठ एआईजीमा बढुंवा हुंदा एक नम्बरमा बढुवा भए उनको सशस्त्र प्रहरी महानिरीक्षक बन्ने सम्भावना बलियो छ । श्रेष्ठ यसअघि सशस्त्र प्रहरीको प्रवक्ता समेत बनेका थिए ।

उनी कूटनीतिक आचारसंहिता विपरित गोप्य रुपमा भारतीय दूतावास छिरेको भन्दै बिवादमा आएका थिए । श्रेष्ठ ०७६ सालको ६ मंसिरमा बा २ झ २३९० नम्बरको सरकारी गाडी लिएर लैनचौरस्थित भारतीय दूतावास पुगेपछि छानविनमा परेका थिए । उनलाई त्यो बेला चेतावनी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement