सशस्त्रमा उच्च अधिकारीले अनूमति लिएर मात्र नेता र मन्त्री भेट्न पाउने


काठमाण्डु – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले फ्रि स्केलका सामाग्रीहरु तल्लो तहसम्म प्रभावकारी रुपले पुर्याउन निर्देशन दिएका छन् । सशस्त्र प्रहरी मुख्यालयमा शुक्रबार बसेको परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले कल्याणकारी मातहतमा लामो समयदेखि रोकिएको रकम उठाउन भन्दै मातहतका निकायले पाउनुपर्ने सुविधा समयमै पुर्याउन निर्देशन दिएका हुन् ।

उनले सशस्त्र प्रहरी अस्पतालमा रहेका चिकित्सकहरुलाई फिल्डमै गएर सशस्त्र प्रहरीका कर्मचारीलाई सेवा दिन समेत भनेका छन् । त्यसका साथै पेट्रोल पम्पको रकम समेत उठाउन उनले निर्देशन दिए । अर्यालले कल्याणकारीलाई सशस्त्र कर्मचारीको अधिकतम हितमा उपयोग गर्नुपर्ने धारणा राखेका थिए ।

परामर्श समितिको शुक्रबारको बैठकमा एआईजी, डिआईजी र एसएसपीहरु सहभागी थिए । सशस्त्रका उच्च अधिकारीहरु शक्तिकेन्द्रमा गएर अनावश्यक दबाव दिन थालेपछि महानिरीक्षक अर्यालले अनुमति लिएर मात्र भेटघाट गर्न भनेको स्रोतले बतायो । अर्याल महानिरीक्षक भएदेखि नै परामर्श समितिको बैठक नियमित बस्ने गरेको छ ।

सशस्त्रमा उच्च अधिकारीहरुले अनुमति नलिएर विभिन्न राजनीतिक दलका नेता, मन्त्री र कर्मचारीहरुलाई भेट्ने गरेको भन्दै उनले अवदेखि सचिवालयमा टिपाएर जुन कामको लागि हो त्यसका लागि मात्र भेट्न निर्देशन दिएका छन् ।

‘अवदेखि तपाईहरु गृहमन्त्रालय जान्छु भनेर गयो भने त्यही जानुहोस । तर, फेरी त्यहांबाट उर्जातिर नछिर्नुहोस । जानुभयो भने पनि समय र जानुको कारण सचिवालयमा टिपाएर मात्र जानुहोस् । यसरी जथाभावी गर्नुभयो भने म टुलुटुल हेरेर बस्दैन ।’ अर्यालको भनाई उदृत गर्दै स्रोतले भन्यो ।

आफ्नै ब्याचका एआईजीहरुलाई समेत उनले आफुभन्दा राम्रो गर्ने भए आफुले पद छोड्ने भन्दै अनावश्यक चलखेल नगर्न समेत भनेका छन् । अर्यालले सबै मिलेर एकतावद्ध भएर संगठनको हितमा लाग्नुपर्ने धारणा बैठकमा राखेका थिए ।

‘तपाईहरुलाई मभन्दा राम्रो गर्नसक्छु भन्ने लाग्छ भने म राजिनामा दिन्छु । तपाईहरुमध्ये को हुने हो आईजी हुनुहोस । तर, अनावश्यक चलखेलमा नलाग्नुहोस । संगठनलाई सबै मिलेर बलियो बनाउनेतिर लागौं । ’ अर्यालले बैठकमा भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement