सशस्त्रका डिआईजीको सरुवा अवैधानिक,गृहमन्त्री र गृहसचिव पनि झुक्काइए


काठमाडौं– सशस्त्र प्रहरी बलले आईतबार राती ८ जना डिआईजीको सरुवा गरेको छ । गृहमन्त्रालयले गरेको मन्त्रिस्तरीय सरुवा त्रुटिपूर्ण देखिएको छ । आईतवार सांझ गृहमन्त्रालयले गरेको सरुवाअनुसार डिआईजी सुरज कुमार श्रेष्ठ महानिरीक्षकको सचिवालयमा, बावुराम पाण्डे मद्दती सेवा निर्देशनालयमा, खड्ग राई महानगरीय सशस्त्र प्रहरीको कार्यालयमा, बसन्त कुमार बानिया कार्य विभाग र मन्दिप श्रेष्ठलाई पुर्व क्षेत्रस्थित बराह बाहिनीको बाहिनीपतिमा सरुवा गरेको छ ।

त्यसैगरी डिआईजी चिरन्जीवी अधिकारी पश्चिम क्षेत्रस्थित मुक्तिनाथ बाहिनीको बाहिनीपतिमा,नगेन्द्र थापा सुदुरपश्चिमस्थित वैद्यनाथ बाहिनी र राजुराम सुवाललाई मध्यपश्चिमस्थित महेश्वरी बाहिनीको बाहिनीपतिको जिम्मेवारी दिइएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको सिफारीसमा गृहमन्त्रालयले गरेको सरुवा त्रुटिपूर्ण भएको खुलासा भएको छ ।

शसस्त्र प्रहरीको प्रवक्ता समेत रहेका डिआईजी बावुराम पाण्डेलाई मद्दती सेवा निर्देशनालयमा सरुवा गरिएको छ । जवकी सशस्त्रमा उक्त निर्देशनालयमा डिआईजीको दरबन्दी नै कायम छैन् । सशस्त्रमा उक्त निर्देशनालयको प्रमुख एसएसपी रहने व्यवस्था छ । यसअघि डिआईजी खडानन्द चौधरीलाई उक्त निर्देशनालयमा खटाइएको थियो । हाल उनि एआईजीमा बढुवा भइसकेका छन् । डिआईजी पाण्डेलाई बढुवा खाली भन्दै उनलाई उक्त निर्देशनालयको प्रमुख बनाइएपनि उनको सरुवा भने नियमले अवैधानिक देखिन्छ ।

सशस्त्रमा हाल सिमा विभागमा दुई जना डिआईजी र कार्य विभागमा एक जना डिआईजीको दरबन्दी खाली हुंदा हुंदै पाण्डेलाई मद्दती सेवा निर्देशनालयमा सरुवा गरेपछि सशस्त्रमा सवै चकित परेका छन् ।

‘अन्य विभागमा दरबन्दी खाली हुंदा हुंदै दरबन्दी नै नभएको ठाउंमा सरुवा सिफारीस गर्नु नेतृत्वको कमजोरी हो, यसमा गृहमन्त्री र गृहसचिवलाई पनि झुक्काउने काम भएको छ ।’ सशस्त्रका एक डिआईजीले काठमाडौंपाटीसंग भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement