‘सधै एउटा स्याउ खाऊ र डाक्टरबाट टाढा बस’ भन्ने भनाइ तपाईंले पक्कै सुन्नु भएकै होला । स्याउका सन्दर्भमा यो भनाइ निकै प्रचलित छ ।
स्याउ संसारभर नै धेरै मन पराउने फल मध्ये एक हो । विभिन्न रङ र स्वादमा पाइने स्याउले हामीलाई स्वस्थ रहन मद्दत गर्छ । विश्वभर प्रत्येक वर्ष १० करोड टन स्याउ उत्पादन हुन्छ ।
‘सधै एउटा स्याउ खाऊ र डाक्टरबाट टाढा बस’ भन्ने भनाइ सन् १८६६ मा वेल्सबाट आएको मानिन्छ, जसमा भनिएको थियो कि राति सुत्नुअघि एउटा स्याउ खाएपछि तपाईंले डाक्टरको कमाइ खोस्न सक्नुहुन्छ । तर, के यस प्रचलित भनाइमा कुनै वैज्ञानिक आधार छ ? के स्याउ अन्य फलहरूको तुलनामा स्वास्थ्यका लागि साँच्चै बढी उपयोगी छ ?
वैज्ञानिक अनुसन्धान के भन्छ?
२०१७ भएको ५ वटा अध्ययनहरूको समीक्षाबाट के थाहा भयो भयो भने नियमित स्याउ सेवन गर्दा टाइप २ डायबिटिजको जोखिम १८ प्रतिशत कम हुन सक्छ ।
२०२२ मा गरिएको १८ वटा अध्ययनमा नियमित स्याउ वा स्याउको जुसले कोलेस्ट्रोल घटाउन मद्दत गर्छ भन्ने तथ्य पत्ता लाग्यो ।
अमेरिकाको मिडल टेनेसी युनिभर्सिटीकी प्राध्यापक जेनेट कोल्सनका अनुसार स्याउमा भिटामिन सी वा आइरन, क्याल्सियम धेरै हुँदैन, तर यसमा अन्य धेरै उपयोगी तत्वहरू हुन्छन् । इटलीको भेरोना विश्वविद्यालयकी वनस्पति विज्ञानकी प्रोफेसर फ्लाभिया गूजोका अनुसार स्याउमा पाइने पालिफेनोल्स अन्य फल र तरकारीमा पनि पाइन्छन्, तर स्याउमा यी तत्वहरू भरपुर मात्रामा हुन्छन् ।
पालीफेनोल्स शक्तिशाली एन्टिअक्सिडेन्ट हुन्, जसले शरीरमा फ्री रेडिकल्स नियन्त्रणमा राख्न सहयोग गर्छन् । यसले क्यान्सर, मुटु रोग, अस्थमा, डायबिटिज, मोटोपनजस्ता समस्याहरू रोक्न सक्छ ।
स्याउमा के–के पोषक तत्व हुन्छन् ?
स्याउमा फ्लेभेनोल्ससहित फाइटोकेमिकल्स पाइन्छन्, जसले मुटुलाई स्वस्थ राख्न र तौल घटाउन मद्दत पुर्याउँछ । यसमा पाइने पॉलिफेनोल्समध्ये एउटा हो एन्थोसायनिन्स, जसले स्याउको छालालाई रातो रंग दिन्छ र हृदयका लागि फाइदाजनक हुन्छ ।
अर्को महत्वपूर्ण तत्व हो फ्लोरिडजिन, जसले रगतमा ग्लुकोज नियन्त्रणमा मद्दत गर्छ । यस्तै, पेक्टिन नामक फाइबर पनि स्याउमा प्रचुर मात्रामा पाइन्छ, जसले रगतको खराब कोलेस्ट्रोललाई घटाउँछ र रगतको ग्लुकोज स्थिर राख्न मद्दत गर्छ ।
स्याउ, औषधि र डाक्टरको सम्बन्ध
२०१५ मा गरिएको ९ हजार जनामाथि गरिएको अध्ययन अनुसार स्याउ खाने मानिसहरू डाक्टर कहाँ कम जान्छन् भन्ने देखिएको भए पनि यो आँकडाले निर्णायक प्रमाण दिन सकेन । सम्भवतः स्याउ खाने मानिसहरू बढी शिक्षित वा स्वच्छ जीवनशैली अपनाउनेहरू हुन्छन् ।
तर, एक रोचक कुरा थाहा भयो भने नियमित स्याउ खाने मानिसहरू औषधिमा कम निर्भर हुने पाइयो । त्यसैले अनुसन्धानकर्ताहरू भन्छन्–‘सधै स्याउ खाऊ, फार्मासिस्टबाट टाढा बस ।’
कति स्याउ खाने?
अन्य अनुसन्धानमा भनिएको छ कि दिनमा एक भन्दा बढी अथवा तीन वटा स्याउ खाँदा तौल घट्ने र ब्लड ग्लुकोज सुधार हुने देखिन्छ । उदाहरणका लागि ४० महिलाले दिनमा तीन स्याउ खाएपछि उनीहरूको तौल घटेको र रगतको चिनी सन्तुलनमा सुधार आएको एउटा अनुसन्धानमा देखिएको थियो ।
स्याउ खाने तरिका ?
अनुसन्धानकर्ताहरू भन्छन् कि स्याउको छालासहित खानु उत्तम हुन्छ । किनभने अधिकांश पोषक तत्व र पालिफेनोल्स छालामै हुन्छन् । प्राचीन जातको स्याउ (जस्तै इटालीको ‘पाम प्रुशियन) मा आधुनिक स्याउभन्दा बढी लाभदायक तत्व पाइएका छन् ।
‘सधै एउटा स्याउ खाँदा डाक्टरबाट टाढा बस्न सकिन्छ’ भन्ने भनाइ पूर्ण रूपमा सही होइन, तर यो भन्न सकिन्छ कि स्याउ खाँदा समग्र स्वास्थ्यमा राम्रो प्रभाव पर्छ । तर, स्याउ मात्र होइन, विभिन्न वनस्पतिमा आधारित खाद्यपदार्थ मिलाएर समग्र पौष्टिक आहार अपनाउनु नै दीर्घकालीन स्वास्थ्यको साँचो आधार हो ।
प्रतिक्रिया