जन्मकैद फैसला सुनाइएका मेयर सियाराम कुसवाह काठमाडौंबाट पक्राउ


काठमाडौं— हत्या मुद्दामा दोषी ठहर भइ फरार रहेका पर्साको कटहरिया नगरपालिकाका मेयर सियाराम कुसवाह पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो।

उच्च अदालत वीरगन्जले मंगलबार जिल्ला प्रहरी गौरलाई पत्र काटेर कुसवाहलाई तत्काल पक्राउ गर्न निर्देशन दिएपछि सीआईबीको टोलीले पक्राउ गरेको हो।

उच्च अदालत जनकपुरको वीरगन्जस्थित अस्थायी इजलासले हिन्दु युवासंघ पर्साका संस्थापक अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा मेयर कुसवाहलाई दोषी ठहर गरेको थियो।

मेयर कुसवाहलाई गत फागुन २८ गते २० वर्ष जेल सजायको फैसला गरेको थियो। अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय नारायणप्रसाद श्रेष्ठ र लेखनाथ घिमिरेको संयुक्त इजलासले फैसला सुनाएको हो। फैसलाको झन्डै डेढ महिनापछि कुसवाहलाई पक्राउ गरी बुझाउन उच्च अदालतबाट पत्र आएको जिल्ला प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए।

वीरगन्जको अशोकबाटिकास्थित शिवपार्वती मन्दिर परिसरमा तत्कालीन हिन्दु युवासंघका अध्यक्ष तिवारीलाई मोटरसाइकलमा आएका व्यक्तिले २०६७ साल असार १२ गते गोली हानी हत्या गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement