चोरी घटनामा संलग्न ४ जना काठमाडौंबाट पक्राउ


काठमाडौं—उपत्यकाका विभिन्न स्थानबाट चोरी कार्यमा संलग्न ४ जनालाई महानगरीय अपराध महाशाखा, टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र भएका चोरीका घटनामा संलग्न रहेका व्यक्तिहरुको खोजी गर्ने क्रममा चोरी कार्यमा संलग्न उनीहरुलाई चोरी गरी लगिएको सामान सहित फेला पारी पक्राउ गरिएको सो महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेहरुमा धादिङ सत्यदेवी गाउँपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-७ मैजुवाहाल बस्ने २३ वर्षीय अनिल भन्ने जिन गुरुङ, नुवाकोट तार्केश्वर गाउँपालिका-५ घर भई काठमाडौं मैजुवाहाल बस्ने २३ वर्षीय कमान बहादुर तामाङ, रौहतट बिर्ता गाउँपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-१९ दमाईटोल बस्ने २२ वर्षीय राजा आलम र रौतहट चपुर नगरपालिका-५ घर भई हाल काठमाडौं दमाईटोल बस्ने २० वर्षीय लाल मोहम्मद रहेका छन् ।

उनीहरुको साथबाट सामसुङ कम्पनीको मोबाइल १२ थान, आई फोन १ थान, भिभो कम्पनीको मोबाइल १ थान, एच पि कम्पनीको इलाइट बुक १ थान, सिसाको ग्लास २४ थान, सेरामिकको चम्चा १९ थान, बिभिन्न डिजाईनको कपडाहरु ४१ थान र बिभिन्न कम्पनीको टिभी २ थान समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ व्यक्तिहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement