महामन्त्रीको प्रतिवेदन एनजीओको विसलिस्ट जस्ताे लाग्याे : आरजु राणा


काठमाण्डु – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीहरूले पेश गरेको प्रस्ताव एनजीओको ‘विसलिस्ट’ जस्तो भएको बताएकी छन् ।

शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले कांग्रेस देशको एजेण्डा सेट गर्ने पार्टी भएपनि महामन्त्रीहरूको प्रस्तावमा त्यस्ता दुरगामी एजेण्डाहरू नआएको बताइन् ।

उनले भनिन्, ‘यसपटक महामन्त्रीको प्रतिवेदनमा कुनै राजनीतिक दस्तावेज आउँछ होला भन्ने सोचेको थिएँ । त्यो एक एनजीओको विसलिस्ट जस्तो लाग्यो । कार्यक्रम धेरै गर्ने अनि त्यसकाे रिजल्टचाहीँ के त ? योभन्दा दुईतीनवटा उपलब्धिमुलक कार्यक्रम गरौँ र त्यो परिणाममुखी बनाऔँ ।’

उनले पार्टीले आफ्नो दिशा तय गर्नुपर्ने समेत बताएकी छन् । हामी सुशासनका लागि कति तयार छौँ । म प्रधानमन्त्रीको धर्मपत्नी रहेर के रहेछ भनेर बुझ्दा हाम्रा पार्टीबाट मन्त्रीहरू हुने र उहाँहरूको सिक्दासिक्दै कार्यकाल सकिने देखिन्छ ।

उनले मुलुकमा सुशासन कायम गर्ने विषयमा पार्टीका नेताहरू पूर्वप्रशिक्षित हुनुपर्ने बताइन् । ‘म प्रधानमन्त्रीको धर्मपत्नी भएर ४/५ पटक उहाँसँगै देशमा के–के हुन्छ, देखेको छु । हाम्रा मन्त्रीहरू मन्त्री भएर जानुहुन्छ, तर सिक्दा–सिक्दै ठीक्क हुन्छ । त्यसैले कुन मन्त्रालयको ड्युटी के हो ? के भइरहेको छ, के गर्नुपर्ने हो ? यसबारे हामीले पार्टीमै छलफल गरेर पूर्वतयार हुनु आवश्यक छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement