श्रम संस्कृतिका सांसदहरुद्वारा सभामुखको आदेश अस्वीकार

श्रम संस्कृतिका सांसदहरुद्वारा सभामुखको आदेश अस्वीकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डू– सभामुख डोलप्रसाद (डिपी) अर्यालले पर्चा र प्लेकार्डसहित विरोध नगर्न आदेश दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठक जारी रहँदा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृृति पार्टीका सांसदले प्लेकार्डसहित केहीबेर सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि छातीमा प्लेकार्ड टाँसेर उनीहरु सिटमा बसेका थिए । सभामुख अर्यालले संसदको मर्यादाविपरीत गतिविधि नगर्न सचेत गराएका छन् । उनले श्रम संस्कृति पार्टीको विरोधको शैलीलाई असंसदीयको संज्ञासमेत दिए ।

‘ विरोध गर्ने विभिन्न शैलीहरू हुन्छन् । तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ’, अर्यालले भने, मर्यादामा बसेर विरोध गरिदिन यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रुपमा पनि लिइदिन म जानकारी गराउँछु ।’


अर्यालले पर्चा र प्लेकार्ड देखाएर विरोध गर्न अभ्यास, कानून र नियमावलीले नदिएको बताए । ‘पर्चा देखाएर विरोध गर्न सदनमा हाम्रा कानुन अथवा नियमावली र प्राक्टिस कसैले पनि दिएको देखिँदैन’, सभामुख अर्यालले भने, ‘यसकारण आगामी दिनमा विरोध गर्ने शैली मर्यादापूर्वक तरिकाले गर्नका लागि म जानकारी गराउँछु ।’

तर, सभामुखको आदेश अवज्ञा गर्दै श्रम संस्कृतिका सांसद छातीमा प्लेकार्ड टाँसेरै बैठकमा सहभागी भएका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह नआएको विरोधमा श्रम संस्कृति प्लेकार्डसहित बैठकमा सहभागी भएको हो ।

शनिबार विपक्षीको विरोधबीच प्रतिनिधिसभाबाट नीति कार्यक्रम पारित हुनुअघि श्रम संस्कृतिका संसदले बैठक बहिस्कार गरेका थिए ।